Logo

बिजनेस होम

हस्तकला क्षेत्रमा सहुलियत कर्जाको पहुँच पुर्‍याउन खुकुलो नीति आवश्यक


gdpnepal
   २९ पुस २०८०, आइतबार


काठमाडौं । नेपाल हस्तकला महासंघले सहुलियत कर्जासम्बन्धी नीति खुकुलो बनाउन माग गरेको छ । सरकारद्वारा प्रदान गरिएको सहुलियत कर्जाको उपयोग हस्तकला व्यवसायीले गर्न नपाएको भन्दै संघका अध्यक्ष प्रचण्ड शाक्यले यससम्बन्धी नीतिका कडा प्रावधानलाई खुकुलो बनाउन माग गरेका हुन् । महासंघको ४३ औं वार्षिक साधारणसभामा शनिबार अध्यक्ष शाक्यले हस्तकला क्षेत्रमा अनौपचारिक रुपमा व्यवसाय सञ्चालन गर्नेको संख्या धेरै भएकाले यो सुविधाको उपयोग गर्न नसकेको धारणा राखे ।

हस्तकलाको उद्योग व्यवसायको लागि सहुलियतपूर्ण कर्जाको निमित्त आफूहरुले नेपाल राष्ट्र बैंकलगायतका निकायमा पैरवी गर्दै आएको स्मरण गराउँदै अध्यक्ष शाक्यले यसको फाइदा भने व्यवसायीहरुले लिन नसकेको बताए । नेपाल सरकारबाट हस्तकला क्षेत्रलाई समग्र रुपमा घरेलु तथा साना र मझौला उत्पादनमूलक उद्योग व्यवसाय अन्तर्गत राखी ५ प्रतिशत ब्याजदरमा सहुलियतकर्जा सुविधा उपलब्ध गराइएको उनको भनाइ छ । “हस्तकला क्षेत्रका सबै उद्यमी ब्यवसायीहरुलाई सहज प्रकृयाबाट सरल कर्जा पाउने नीतिगत तथा कानूनी व्यवस्थाको लागि म नेपाल राष्ट्र बैंकसमक्ष आग्रह गर्दछु,” उनले भने ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने उनले प्रतिवद्धता जनाए । यस्तै, बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले हस्तकलाका उत्पादन निर्यात गरी मुलुकको आर्थिक अवस्थालाई सबल बनाउन सकिने दृष्टान्त दिँदै निर्यात प्रवद्र्धनमा सहजीकरण गर्न बागमती प्रदेश सरकार तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकबाहिरका सबै राजदूतावासमा हस्तकलाका सामग्री शोकेस गरी राखिनुपर्ने धारणा राखे । हस्तकलाको विकासका लागि कलेक्टिभ ट्रेडमार्क आवश्यक रहेको उनको भनाइ छ । मुलुकको आर्थिक परिसूचकाङ्क सकारात्मक दिशाउन्मुख रहेका उल्लेख गर्दै उनले सकारात्मक भाष्यका साथ अघि बढ्न व्यवसायीलाई आह्वान गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला क्षेत्रमा पुस्तान्तरणको अभाव देखिन थालेकामा चिन्ता व्यक्त गर्दै युवा पुस्तालाई पनि यस क्षेत्रमा आकर्षित गर्न विभिन्न योजना ल्याइनुपर्ने बताए । व्यापार घाटा घटाउन हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले निर्यात प्रवद्र्धनका लागि सरकारी सहयोग अभिवृद्धि हुनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै निर्यात प्रवद्र्धनमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय समुदायमा देशको कला, संस्कृति, पहिचान एवं गरिमा बढाउने हस्तकला क्षेत्र भएको उल्लेख गर्दै यसको प्रवद्र्धनमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलाका सामग्रीलाई सौन्दर्यीकरणको भाव दिन प्रतिष्ठान क्रियाशील रहेको बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वबजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्न उद्यमीलाई सुझाव दिए ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले हस्तकला क्षेत्रको विकासमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताइन् । कार्यक्रममा महासंघ अध्यक्ष शाक्यले धेरै तौल भएका काष्ठकला, प्रस्तरकला, धातुकला वस्तुहरु सम्बन्धित निकासीकर्ताको उद्योगमा नै पुरातत्व जाँचपासको व्यवस्था मिलाई जाँचपास कार्यमा सहजिकरण गरिदिनुपर्ने बताए ।

पुरातत्व जाँचपास गर्ने इकाईहरु काठमाडौंमा त्रिभुवन विमानस्थल क्षेत्र भित्र र हस्तकला उद्योग व्यवसायको बाहुल्यता भएका उपयुक्त स्थानहरुमा समेत राखि जाँचपास कार्यलाई सरलिकृत गरी दिन उनको आग्रह छ ।

यस्तै, चीनमा व्यापार व्यवसाय र व्यापार मेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैंकिङ्ग प्रणालीबाट नेपाल ल्याउन पाउने नीतिगत व्यवस्थाको लागि पनि उनले आग्रह गरे ।

प्रकाशित : २९ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह