Logo

राजनीति

तामाकोशी गाउँपालिकाका १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दाः पूर्वउपाध्यक्षदेखि वडाध्यक्षसम्म तानिए


gdpnepal
   २७ फाल्गुन २०८०, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तामाकोसी–३, जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण उनीहरूले १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्य व्यक्तिहरुमा तामाकोसी गाउँपालिकाका लेखा अधिकृत विजय लुइँटेल, इन्जिनियर सुबोधकुमार चापागाईं, लेखापाल रामबहादुर कार्की, सबइन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल रहेका छन् ।

यस्तै, तामाकोसी–१ का तत्कालीन वडाअध्यक्ष महेश्वर काफ्ले, वडा नम्बर–४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा नम्बर–३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्ले विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

उनीहरूले अनियमितता गरी सरकारलाई गैरकानुनी हानि पुर्याउने कार्य गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदापनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामाग्रीमा वडाअध्यक्षले बेचेर आफै खर्च गरेको लगायतको उजुरी परेकाे थियाे ।

स्थलगत नापजाँच गर्दा भवनको दुईवटा डायागोनल लम्बाइ पनि फरक परेको देखिएकोले आफैले तयार गरेको लागत अनुमानभन्दा फरक तरिकाले निर्माण कार्य गरे तापनि लागत अनुमान डिजाइनसमेत संशोधन नगरी निर्माण कार्यको आकार वा रुप परिवर्तन गर्ने तथा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरेको निर्माण कार्यको भुक्तानीको लागि नापी किताब, उपभोक्तासम्बन्धी बिल, कार्य सम्पन्‍न प्रतिवेदन, गोश्वारा भौचर, टिप्पणी पेश गर्ने कार्य गरी भुक्तानी दिन नमिल्ने रकम  १२ लाख ८९ हजार ३२० रुपैयाँ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेकाे अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह