काठमाडौं । नेपालको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सोमबारबाट भारतको कोलकाता उडान सुरु गरेको छ । दुईतर्फी भाडा २२ हजार निर्धारण गरिएको कोलकाता रुटका लागि बुद्धले सातामा तीन उडान गर्नेछ ।
हाल एयर इन्डियाले कोलकाता–काठमाडौं–कोलकाता नियमित उडान गरिरहेको छ । एयर इन्डियाले चालू सिजनमा औषत १९ हजार ५ सय रुपैयाँमा टिक बिक्री गरिरहेका बेला बुद्धको प्रवेशले बजार हस्तक्षेप हुने अपेक्षा गरिएको छ ।
कोलकाताबाट भारतीय पर्यटक नेपाल भित्र्याउन तथा नेपाली व्यवसायी एवं तीर्थयात्रीका लागि पनि सहज होस् भन्ने हेतुले बुद्धले कोलकाता उडान गरेको हो ।
बुद्धले सोमबार, बुधबार र शुक्रबार काठमाडौं–कोलकाता–काठमाडौं उडान गर्ने जनाएको छ । बुद्धको एटीआर ७२–५०० विमानबाट १ घण्टा ३० मिनेटमा कोलकता पुगिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ८ बजे कोलकाताका लागि उडान भर्ने तथा कोलकाताबाट साढे १० बजे काठमाडौैंका लागि उडान गर्ने जनाइएको छ ।
७२ सिटे जहाज भए पनि प्राविधिक कारणले हाललाई ६५ यात्रुमात्रै यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । बुद्धले बुद्ध होलिडेजमार्फत भारतीय यात्रुहरुको लागि प्याकेजमार्फत भारतमा प्रवद्र्धन गरिरहेको छ।
यसअघि बनारसमा साताको २ उडान गरिरहेको बुद्धले अगस्ट ३ बाट गुहाटी उडान गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया