Logo

अर्थनीति

वाईवाईको गुणस्तर परीक्षण रिपोर्ट महानगरको ‘स्टन्ट’ मात्र होः विज्ञ


gdpnepal
   १९ बैशाख २०८१, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले गत साता वाईवाई चाउचाउको गुणस्तर परीक्षण गर्दा खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा देखिएको र यसमा निम्न गुणस्तरको तेल प्रयोग गरिएको हुनसक्ने रिपोर्ट सार्वजनिक गर्‍यो ।

महानगरको रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु प्रति ग्राम तेलमा १३.९३४ एमजी/केओएच देखिएको उल्लेख छ । यसको भ्यालु प्रति ग्राम तेलमा १ एमजी/केओएच भन्दा बढी हुनु हुँदैन ।

महानगरले यही आधारमा वाईवाईको तेलको गुणस्तर नभएको र यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने भन्दै आफ्ना खाद्य प्राविधिक अनिल बस्नेतलाई उधृत गर्दै समाचार सार्वजनिक पनि गर्‍यो ।

महानगरले वाईवाई चाउचाउ उत्पादक सिजी फुड्सको नाउँ उल्लेख नगरी ‘बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना’ शीर्षकमा आफ्नै सामाजिक सञ्जाल र मेट्रो न्यूजमार्फत समाचार प्रकाशन/प्रशारण गरेको थियो ।

महानगरको कृषि तथा पशुपन्छी विभागले गुणस्तर परीक्षण गरी र सार्वजनिक गरेको रिपोर्टपछि २ लाख रुपैयाँ जरिवानासमेत तोकेसँगै वाईवाईको गुणस्तर सम्बन्धमा विभिन्न चर्चा परिचर्चा भइरहेका छन् ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यसलाई ‘आईपीओ ल्याउने सार्वजनिक घोषणापछि वाईवाईमाथि नियोजित आक्रमण भैरहेको’ संज्ञा दिएका छन् । आलोचकहरुले आफ्ना दुई भाइसहित निर्वाण सहभागी कान्तिपुर टेलिभिजनमा प्रशारित एक कार्यक्रमको पुरानो क्लिपलाई तोडमोड गरी सामाजिक सञ्जालमा ‘भाइरल’ बनाइरहेका छन् ।

वाईवाईको गुणस्तर परीक्षण प्रतिवेदनलाई विज्ञहरुले भने महानगरपालिकाको स्टन्टमात्र हुनसक्ने बताएका छन् ।

नेपाल र भारतसहित अफ्रिकासम्म चाउचाउ लगायत खाद्य क्षेत्रमा २५ वर्षभन्दा बढी समयको अनुभव हासिल गरिसकेका विज्ञ हिक्मत थापा भन्छन्, “अहिलेको विश्व बजारमा प्रतिस्पर्धा गर्ने ब्रान्डले एउटा पशु विज्ञले साइन गरेको भरमा त्यो स्टन्टलाई बिस्वास नगरेकै वेश हुन्छ ।”

थापाका अनुसार चाउचाउ उद्योगमा फ्राईङ्ग पानमा नियमित नयाँ तेल थपिँदै गएको हुनाले प्रयोग गरिने तेलमा गुणस्तर कमजोर हुँदैन ।

“जस्तै दिनको १० टन चाउचाउ भन्दा २ टन तेल चाउचाउमा गैसकेको हुन्छ, जबकी प्यानमा त्यो भन्दा कम तेल हुन्छ,” उनी भन्छन्, “प्यानमा चाउचाउले तेल सोस्दा घट्ने तेल थपिदै नयाँ गएको हुन्छ र नियमित एभी परिक्षण भैरहेको हुन्छ ।”

नेपालमा रहेका सबै अहिलेका प्लान्ट अटोम्याटेड हुने उल्लेख गर्दै उनी भन्छन्, “ त्यहाँ घरको प्यान जसो रिफ्राई भन्ने हुन्न । केही कारणले एभी १ भन्दा माथी गएमा प्रयोग गर्दैनन् ।”

सेल्फ लाइफ, बढी एभीले स्वाद र बासनामा गर्ने असर बारे उद्योग आफैं सजग हुने उनको भनाइ छ । “त्यसमाथि खाद्य प्रविधि, गुणस्तर विभाग, आइएसओ, निर्यात गरिरहेका चाउचाउ उद्योगलाई अर्को देशको गुणस्तर निकाय आदिको ख्याल गरेको हुने भएकाले पनि महानगरले देखाएको रिपोर्टजस्तो कमसल तेल प्रयोग भएको हुनै सक्दैन,” थापाले भने ।

नेपालसहित भारत, युरोप अमेरिका र अफ्रिकामा फैलिँदो वाईवाईको ब्रान्डले गुणस्तर नियन्त्रणलाई प्रमुख प्राथमिकता राखेकोमा विश्वास गर्नुपर्ने उनको भनाइ छ ।

धरानस्थित फुड टेक्नोलोजी कलेजबाट दीक्षित रहेका थापा नेपाल र भारतमा पनि चाउचाउसहित अन्य स्न्याक फूड्स लगायत अफ्रिकाका चिनी परियोजनाहरू, तरकारी तथा तेल रिफाइनरी, टमाटरको पेस्ट, चामल, पिठो, साबुन, डेरी, सिमेन्ट, अटोमोबाइल र अन्य उद्योग परियोजना सञ्चालनको नेतृत्व गर्दै आएका छन् ।

थापा हाल अफ्रिकाको नाइजेरियामा डाँगोटे ग्रुपमा ग्रुप जनरल मेनेजरका रुपमा कार्यरत छन् ।

प्रकाशित : १९ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह