Logo

राजनीति

अन्ततः संसदीय छानबिन समिति गठनको सहमति


GDP नेपाल
   ६ जेष्ठ २०८१, आइतबार


काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारीमा रहेका विद्यमान समस्याहरुबारे संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार करिब दुई घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

छलफलपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनेबारे समान धारणा रहेको उल्लेख गर्दै समितिको कार्यदेशबारे आइतबारबाट काम हुने बताए । तर, कांग्रेसको मागअनुसार गृहमन्त्री लामछिानेमाथि केन्द्रित भएर समिति गठनको सहमति भए÷नभएको भने खुलाएनन् ।

‘आज हामी मुख्य दलको शीर्ष नेताहरूको बैठक बस्यो । प्रधानमन्त्रीजी, नेपाली कांग्रेस सभापतिजी, नेकपा एमाले अध्यक्ष ओलीजी, उपप्रधानमन्त्रीजी लगायतका नेताहरू बस्नुभएको हो । भोलिको सदनको विषयलाई लिएर छलफल भयो । सकारात्मक रूपमा नै अघि बढ्छ । समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ,’ उनले भने, ‘समितिको कार्यादेश के हुने भन्ने बारेमा पनि काम गर्ने कुरा भएको छ ।’

संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष समेत सहमत भएपछि विगत दुई महिनादेखिको संसद अवरोध हट्ने सम्भावना छ । तर सत्ता पक्षले छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम राख्न सहजै स्विकार्ने देखिँदैन ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह