निजामती सेवा ऐन, २०४९ ले नेपालको निजामती सेवामा ट्रेड युनियन अधिकारको सुनिश्चतता गरेको छ । ऐनको व्यवस्था बमोजिम २०७३ सालमा निजामती सेवामा कार्यरत कर्मचारीहरूहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन भएपनि पदावधि सकेकाले अहिले निस्कृय भएको छ ।
यता पार्टीगत रुपमा खुलेका ट्रेड युनियन भने क्रियाशिल रहेका छन् । एमाले निकट कर्मचारी संगठन, कांग्रेस निकट कर्मचारी युनियन, माओवादीको राष्ट्रिय कर्मचारी संगठन, एकीकृत समाजवादी पार्टीको एकीकृत कर्मचारी संगठन र मधेशवादी दलको मधेशी कर्मचारी मञ्च नामका ट्रेड युनियनहरु सक्रिय देखिन्छन् ।
यसका अतिरिक्त एकीकृत समााजवादी निकट कर्मचारी संगठन फुटेर अर्को दर्ता भएको छ । कानूनलर् निजामती कर्मचारीहरूको सेवा सुविधा तथा वृत्ति विकासको न्यायोचित सुनिश्चित गर्न ट्रेड युनियनको व्यवस्था गरेको देखिन्छ ।
ट्रेड युनियन गठन गर्दा सदस्यताको हुनका लागि आवश्यक दायरा पनि तोकेको छ । जस अनुसार कार्यालय प्रमुख भई काम गर्नुपर्ने राजपत्राङ्कित कर्मचारीबाहेक राजपत्रांकित तृतीय श्रेणी वा सो भन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेसागत हकहितका लागि कर्मचारीहरूको राष्ट्रियस्तरको ट्रेड युनियन गठन गरी सदस्यता लिन सक्ने व्यवस्था गरेको छ ।
तर ट्रेड युनियन गठनको उद्देश्य अनुसार भने उनीहरूले काम सकेको देखिँदैन । संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा निजामती प्रशासन गन्जागोल भएको छ। प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निर्माण र कार्यान्वयनमा जटिलता आएका छन् ।
यी लगायतका समस्या समाधान र निजामती सेवाको नीतिगत सुधारमा ट्रेड युनियनहरुले ठोस प्रयास गर्न सकेको देखिँदैन। ट्रेड युनियनको गतिविधि कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै भएको देखिन्छ ।
सबैभन्दा ठुलो मानिएको एमाले निकट कर्मचारी संगठन र दोस्रो ठुलो कांग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियनहरु अधिवशेन गर्ने तरखरमा रहेका छन् ।
संगठनका अध्यक्ष लेखनाथ कोइराला र युनियनका अध्यक्ष गोपाल पोख्रेल उमेरहदका कारण अनिवार्य अवकासका कारण पद रिक्त हुन लागेकाले अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रयासमा रहेका छन् ।
एमाले निकट कर्मचारी संगठन लगायतका वामपन्थी दल निकट संगठनहरुको महाधिवेशन नाम मात्रको हुने, पार्टिको नेतृत्वको खल्तीबाट आउने नाम अनुसार कार्यसमिति चयन हुने भएकाले कर्मचारीका समस्या समाधानलाई छाडेर पार्टिका नेताहरुसँग सम्बन्ध राम्रो बनाउने तर्फ केन्द्रित हुने गरेको देखिन्छन् भने कांग्रेस निकट कर्मचारी युनियनको मतदानबाट नेतृत्व चयन हुने भएकाले युनियनका नेता भने अधिवेशन केन्द्रित गतिविधि गर्दै आएका छन् ।
उनीहरुले अधिवेशनलाई प्रभाव पार्न पैसाको जोहो गर्ने विदेश भ्रमण, हिमाल आरोहणदेखि आकर्षक मानिएका अड्डामा बस्ने व्यवस्था मिलाउने गरेको देखिन्छ ।
यसैगरी विभिन्न कार्यालयका स्टोर, अध्यागमन कार्यालय, राजश्व अनुसन्धान कार्यालय, बढी कारोबार हुने भन्सार कार्यालय आफै बस्ने तथा तिनी कार्यालयमा अरूलाई पठाउन पैसा असुली गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
ट्रेड युनियनका पदाधिकारीहरु व्यक्ति केन्द्रित स्वार्थमा लाग्दा कर्मचारीका समस्या ओझेलमा परेकाले ट्रेड युनियनप्रति नकारात्मक धारणा बन्दै गएको देखिन्छ ।
प्रतिक्रिया