बर्दिया । मुलुकमा बर्सेनि १२ अर्बको टायल आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यसहित ठूलो लगानीमा उद्योग स्थापना भएको छ ।
लुम्बिनी सेरामिक्स लिमिटेडले बर्दियाको गुलरियामा साढे १२ बिघा क्षेत्रफलमा खोलेको टायल उद्योगमा तीन अर्ब रुपैयाँ लगानी भइसकेको छ भने गत भदौबाट लेमिनार ब्रान्डका टायल उत्पादन समेत सुरु भइसकेको छ ।
लेमिनारले नेपालमा पहिलोपटक शतप्रतिशत भिट्रिफाइड टायल उत्पादन सुरु गरेको हो । भिट्रिफाइड टायल पानी प्रतिरोधी र टिकाउ हुन्छ भने यो अन्य टायलजस्तो सजिलै बिग्रँदैन ।
भिट्रिफाइड टायलमा कडा सतह, उच्च घनत्व र ०.०८ प्रतिशत भन्दा कम पानी सोस्ने क्षमता भएको हुन्छ ।
स्पेन, इटाली, भारत, र चीनबाट ल्याइएको अत्याधुनिक मेसिनरी प्रयोग गरी उत्पादन गरिएका लेमिनारका टायलहरु ५ सय भन्दा बढी डिजाइनहरूमा उपलब्ध छन्, । विभिन्न आकार र प्रकार जस्तैः म्याट, ग्लोसी, हाई–ग्लोसी, ग्रिप नाइन, फुल बडी, ट्रूम्याट लगायतका उत्पादनले उपभोक्ताको मन सजिलै जित्न सक्छ ।
वार्षिक ४१.५ मिलियन वर्ग फिट उत्पादन क्षमता रहेको लेमिनारका टायलहरुको गुणस्तर प्रमाणीकरणका लागि भारतीय बीआईएसका लगि लागि आवेदन गर्ने तयारी भइरहेको कम्पनीका निर्देशक अभिनव चुरिवालले जानकारी दिए । लेमिनारले आइएसओ प्रमाणपत्र भने पाइसकेको छ ।
नेपालमा टाइयको माग बर्सेनि करिब १० प्रतिशतले बढिरहेको छ भने कोभिड पूर्वको तथ्यांक अनुरा करिब साढे १० अर्बको वार्षिक आायात हुने गरेको अवस्था थियो ।
पछिल्लो समय नेपालमा टायल उद्योगहरु खुल्ने क्रम बढेको छ । जसका कारण सुरु भएको आयात प्रतिस्थापनको लहरलाई लेमिनारले अझ रफ्तारमा अघि बढाउने लक्ष्य लिएको छ ।
“उच्च गुणस्तरका टायलहरु प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सकिन्छ भनेर हामीले यो उद्योग खोलेका हौं,” निर्देशक चुरिवाल भन्छन्, “नेपालमा पूर्ण आत्मनिर्भरता प्राप्त गर्न र विदेशी मुद्रा आर्जन गर्न टायल निर्यात गर्ने हाम्रो योजना छ ।”
उनका अनुसार स्थानीय माग पूरा गरेपछि निर्यात सुरु गरिनेछ । स्थानीय माग पूरा गर्न उपभोक्ताका आवश्यकता अनुसार अनुकूल डिजाइन उपलब्ध गराइनेछ भने कम्पनीले आफ्नो उत्पादनहरूमा गुणस्तर, नवीनता, र समाधानका माध्यमबाट प्रतिस्पर्धी उत्पादनहरूभन्दा फरक प्रस्तुत गर्दैछ ।
नेपालमा टायल उद्योग नयाँ भए पनि आयात प्रतिस्थापनका लागि ठूलो सम्भावना रहेको कम्पनीका अध्यक्ष सुव्रत धिताल बताउँछन् । तत्कालका लागि आर्थिक मन्दी र उपभोक्ताको विश्वास जित्नु चुनौतीपूर्ण रहे पनि गुणस्तरीय उत्पादनका बलमा त्यसलाई पार लगाउने उनको आत्मविश्वास रहेको छ ।
कम्पनीमा अध्यक्ष सुब्रत धितालसहित उद्योगीहरु श्यामसुन्दर खेतान, आशुतोष खेतान, शाइनी खेतान, शशि चुरिवाल र सृजन अर्यालको लगानी रहेको छ ।
लेमिनारमा करिब ३ सय मजदुर तथा कर्मचारीले रोजगारी पाउने छन् भने तत्कालका लागि केही वरिष्ठ प्राविधिक कर्मचारी विदेशी नागरिक हुनेछन् । स्थानीय समुदायलाई रोजगारी र तालिम प्रदान गरिने जनाइएको छ ।
उद्योगले पर्यावरणीय जिम्मेवारी र सामुदायिक विकासलाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ । जसअन्तर्गत ५० प्रतिशत कारखानाको क्षेत्र हरियालीले ढाकिएको छ ।
थप तस्बिरहरुः
प्रतिक्रिया