Logo

अर्थनीति

आयात निर्यात दुवै घट्यो, ३ खर्ब ५२ अर्ब व्यापार घाटा


GDP नेपाल
   १५ मंसिर २०८१, शनिबार


काठमाडौँ । चालू आर्थिक वर्षको तीन महिनामा व्यापार घाटामा चार प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु निर्यातमा ६.१ प्रतिशतले घटेर ३८ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै, वस्तु आयात पनि चार दशमलव दुई प्रतिशतले घटेर तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ । गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आएर तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ ।

यो अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भई ३ खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो ।


चालू आर्थिक वर्षको पहिलो त्रयमासमा चालू खाता एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ करोडले बचतमा रहेको थियो ।
औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ ।

गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो ।

तरकारी तथा दलहन उप– समूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक विन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ५० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः आठ दशमलव ४८ प्रतिशत र ६ दशमलव ८५ प्रतिशत रहेको थियो । गत असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ७८ प्रतिशत रहेको थियो ।

त्यसैगरी, तलब तथा ज्याला सूचकांक तीन दशमलव ३६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकांक पाँच दशमलव ६५ प्रतिशतले बढेको थियो ।
चालू आर्थिक वर्षको मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ ।

गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि तीन दशमलव ४९ प्रतिशत रही वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ ।
कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत असोज मसान्तमा १४ दशमलव महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।

प्रकाशित : १५ मंसिर २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह