काठमाडौं । अमिलो प्रजातिको जुनारको स्वाद र परिकार चखाउने उद्देश्यले राजधानीमा साताब्यापि गोलञ्जोर जुनार मेला चलिरहेको छ ।
मेलामा जुनार जुस, केक, आइसक्रिम, जुनार सलाद, क्रेप सुजेट, फ्रेस जुनारको जुस, हट जुनार जुस, हट जुनार जुसको साथमा रम र स्थानीय जौको रक्सीसँग जुनार जेस्टको फ्रेस स्वाद जस्ता परिकार राखिएको ग्रीन ग्रोथले जनाएको छ ।
ग्रीन ग्रोथ ग्रुप, स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेले संयुक्त आयोजनामा कुपण्डोलस्थित रैथाने रेष्टुरेन्ट र ललितपूरका हाटहरुमा जुनार मेला सम्पन्न गरिएको छ । रैथाने रेष्टुरेन्टमा शनिबार र आइतबार जुनारका परिकारसमेत राखिएका थिए । ललितपुरको साझा सहकारीमा शुक्रबार शनिवार धोबिहाटमा आइतबार र भनिमण्डलमा मङ्गलबार हुने हाटमा जुनार किन्न पाइने जनाइएको छ ।
ग्रीनग्रोथका सञ्चालक निस्चल पोखरेलका अनुसार पहिलो कुरो त जुनार कस्तो खालको फल हो भनेर उपभोक्तालाई चिनाउन नै पर्ने अवस्था छ । प्रायः ले नुन खुर्सानीमा साँधेर या जुस बनाएर जुनार खाने गरिए पनि जुनारबाट अन्य परिकार केके बनाउन सकिन्छ भन्ने जानकारी दिनका लागि समेत जुनार मेला गरिएको बताए ।
स्टोरी साइकलका सञ्चालक दिपीका ज्ञवालीका अनुसार उपभोक्ताले जुनारको उत्पादनदेखि बजारसम्मको यात्रा विवरण क्यूआर कोडबाट ट्रयाक गरेर हेर्न सक्छ । हाम्रो करेशा मोवाइल एप बाट यो क्यूआर कोड स्क्यान गरेपछि उपभोक्ताले किन्दै गरेको जुनार कहाँको हो भन्ने जानकारी पाउँछ । खरिद गरेको जुनारमा कहिले मल हालेको, कहिले टिपेको, कति दूरी पार गरेर ल्याइएको हो ? जस्ता विवरण उपभोक्ताले पाउन सक्छ ।
यसमा जुनार उत्पादक कृषकको बारेमा जानकारी समेत राखिएको हुन्छ । यस पटक सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको तिनकन्या बगैचाको जुनारको ब्रान्डिङ गरिएको हो ।
गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चौधरीका अनुसार जुनार २९८ कृषकले १ हजार ४५ हेक्टरमा जुनार खेती गरिरहेका छन् । सिन्धुलीका ४ स्थानीय तह सुनकोसी–७ मझुवा, कमलामाई–३ जलकन्या, गोलञ्जोर–१ देखि ६ सम्म र तीनपाटन–७ तोश्रामखोलामा बगैचा छ । सवै भन्दा बढी गोलञ्जोर गाउँपालिकाकाका अधिकांश क्षेत्रमा जुनार खेती गरिन्छ । यो मेला बाट गोलञ्जोर जुनारले विशिष्ठ पहिचान दिन सक्छ ।
प्रतिक्रिया