काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा.शर्माको नेतृत्वमा चयन भएको टोलीलाई सफल कार्यकालको शुभकामना दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठुलो शक्ति अरू केही नहुने बताउँदै गैर आवासीय नेपाली सङ्घले आज एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको उल्लेख गरेकी छन्। उनले विश्वभर रहेका सम्पूर्ण गैर आवासीय नेपालीलाई बधाई दिँदै डा.हेमराज शर्मा नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।
यसअघि प्रधानमन्त्री कार्कीले गैर आवासीय नेपाली सङ्घको १२औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गरेकी थिइन्। डा शर्मा गैर आवासीय नेपाली सङ्घमा १३ वर्षपछि पहिलो पटक सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्। काठमाडौँमा विगत तीन दिनदेखि जारी सङ्घको १२औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले १२ बुँदे घोषणापत्र पनि जारी गरेको छ।










प्रतिक्रिया