काठमाडौं । ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड- २०२४’ बन्दना शर्माले पाएकी छन् । हालै सम्पन्न आइसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनले यो अवार्ड पाएकी हुन् ।
सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्याएवापत् शर्मालाई यो वर्षको अवार्ड प्रदान गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्त रूपमा अवार्ड प्रदान गरे । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रुपैयाँ नगद पुरस्कारसमेत पाएकी छिन् ।
नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् ।
यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । यो अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा २००६ मा आइटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिईन् ।
नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छिन् । पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनिप्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।
प्रतिक्रिया