Logo

Banner-news

चेम्बरले छाडेपछि महासंघले काठमाडौंमा गठन गर्यो उद्योग वाणिज्य संघ !


GDP Nepal
   ६ आश्विन २०७६, सोमबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमातहत तत्कालीन ७५ जिल्लामध्ये ७४ वटामा जिल्ला उद्योग वाणिज्य संघ भए पनि राजधानी काठमाडौंमै भने थिएन । काठमाडौंमा उद्योग वाणिज्य संघ नहुनुको एउटै कारण थियो महासंघभन्दा पुरानो चेम्बर अफ कमर्सको सक्रियता । अर्थात काठमाडौं उद्योग वाणिज्य संघको भूमिका चेम्बरले निर्वाह गरिरहेको थियो ।

तर, संघीयतासँगै चेम्बरले आफ्नो सञ्जाल देशव्यापी विस्तार गर्दै महासंघसँगको सम्बन्ध बिच्छेद गरेपछि महासंघले पनि काठमाडौं जिल्लामा उद्योग वाणिज्य संघ स्थापना गरेको छ । महासंघका पूर्वउपाध्यक्ष एवं प्रदेश ३ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा गठित नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आइतबार विधिवत उद्घाटन भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघको विधिवत उद्घाटन गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघसँग नजिक रहेका व्यवसायीहरूले यस्तो संघ गठन गरेका हुन् ।

विगत दुई वर्षयता महासंघ र चेम्बरबीच दूरी बढेसँगै महासंघले समानान्तर संस्था स्थापना गरेको हो । नवगठित संघले काठमाडौं उद्योग वाणिज्य संघको नाम नपाउनुको कारण पनि यसअघि नै चेम्बरका प्रदेश ३ अध्यक्ष कृष्णमान श्रेष्ठको संयोजकत्वमा उक्त संघ गठन भइसकेकाले हो । यसरी अन्य जिल्लामा भन्दा फरक नाममा काठमाडौंमा उद्योग वाणिज्य संघ गठन भएको छ ।

श्रेष्ठको नेतृत्वमा एक वर्षअघि नै संघ गठन भए पनि आइतबारमात्र औपचारिक उद्घाटन भएको हो । संघको पहिलो साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । माल्टाका लागि अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठ प्रदेश ३ उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् ।

संघको उपाध्यक्षमा हेमराज ढकाल, जय शिवाकोटी र राजेन्द्र शेरचन छन् । ढकाल र शिवाकोटी दुवै महासंघको कार्यकारिणी समिति सदस्यसमेत हुन् । यस्तै संघको महासचिवमा कपडा तथा सिलाइ व्यवसायी संघका पूर्वअध्यक्ष रमानाथ श्रेष्ठ, सचिवमा फ्लोरिकल्चर एसोसिएसनका पूर्वअध्यक्ष लोकनाथ गैरे तथा कोषाध्यक्षमा सुषमा महरा र सहकोषाध्यक्षमा दुर्गाराज श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको सदस्यमा नानीराज घिमिरे, वीरबहादुर कँडेल, अमूलकाजी तुलाधर, प्रदीपमान प्रधान निर्वाचित भएका छन् । यस्तै, सदीप श्रेष्ठ, गोविन्दप्रसाद बराल, दीपक भण्डारी, महेन्द्रकुमार गोयल, राजेन्द्र संग्रौला, भरतराज घिमिरे र भीमबहादुर स्वाँर पनि कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक रूपमा संघीयता लागू भए पनि काठमाडौंको आर्थिक गतिविधि कम नहुने भन्दै संघ अझै विस्तार हुने धारणा राखे । उनले मुलुकको कुल आर्थिक कारोबारको एक तिहाई हिस्सा काठमाडौंकै भएको उल्लेख गर्दै अझै पनि कतिपय वस्तुको ६० प्रतिशतसम्म खपत काठमाडौंमा मात्र हुने भएकाले संघको भविष्य उज्वल रहेको बताए ।
संघका अध्यक्ष श्रेष्ठले काठमाडौं जिल्लामा रहेका साना, लघु, घरेलुदेखि ठूला उद्योगीसम्मको प्रतिनिधित्व आफूहरूले गर्ने उल्लेख गर्दै संस्थाको आवश्यकता पहिलेदेखि नै महसुस गरिएको बताए । उनका अनुसार सरकारलाई नीतिगत विषयमा सुझाव दिने तथा निजी क्षेत्रको हक अधिकार प्रवद्र्धनका लागि संघले पैरवी तथा सहजीकरण गर्नेछ ।

कार्यक्रममा महासंघ अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतले संघलाई सफलताको शुभकामना दिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत सबै जिल्लामा जिल्लास्तरीय संगठन भए पनि काठमाडौं जिल्लामा भने नेपाल चेम्बर अफ कमर्सले नै यसको काम गर्दै आएको थियो ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह