विराटनगर । भारतको वथनाहस्थित मीरगञ्ज पुल क्षतिग्रस्त हुँदा पूर्वी नेपालको सीमा नाकाबाट आयात ठप्प भएको छ ।
भारतले समयमै पुल मर्मत नगर्दा पूर्वी नेपालका उद्योग व्यवसाय नै ठप्प हुने अवस्थामा रहेको स्थानीय व्यवसायीहरुले बताएका छन । पटकपटक पहल गर्दा पनि सम्बन्धित निकायबाट पहल नभएपछि आफूहरू निराश भएको उनीहरूले बताए ।
सीमावर्ती भारतीय बजार जोगबनी छेउमा अवस्थित जीर्ण अवस्थामा रहेको मीरगञ्ज पुल मर्मतको क्रममा रहेको र मर्मत कार्य पूरा हुन कम्तिमा तीनदेखि चार हप्ता लाग्ने भारतीय पक्षले जानकारी गराएपछि उनीहरू थप निराश भएका छन् ।
निर्माणपछि पनि उक्त पुलको भार क्षमताका कारण अवरोध हुने अवस्था कायमै रहने उद्योगी व्यवसायीको भनाइ छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी समस्याको तत्कालिक समाधानका लागि विगतमा जस्तै सुनसरीको भीमनगर नाकाबाट आयात निर्यातका मालवाहक साधनहरू रि–रुट गरेर ल्याउने व्यवस्थाका लागि सम्बन्धित निकायमा पहल गरिरहेको बताएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले दीर्घकालीन समाधानका लागि आईसीपी जोगबनी जोड्ने आरसीसी पुल निर्माणलाई पनि शिघ्रता दिनुपर्ने माग गरे । उनले हालको यस पुलमार्फत मालवाहक सवारी साधनहरूको आवतजावत पूर्ण रूपले ठप्प हुँदा भारततर्फ मात्र पनि करिब ५ हजार सवारी साधनहरू अलपत्र पर्ने स्थिति रहेको बताए ।
घिमिरेले अहिलेको अवस्थामा २ हजारभन्दा बढी मालवाहक सवारी साधनहरू लामबद्ध भइसकेको बताए । जसको डिटेन्सन र डेमरेज चार्जमात्रै प्रतिदिन १ करोड रुपैयाँ र साथै उद्योगको उत्पादकत्व क्षमता विभिन्न अभावले गर्दा घट्न गई अरबौँको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको बताए ।
पुलकै कारण दैनिक उपभोग्य वस्तुहरूको अभाव हुने प्रवल सम्भावना देखिएको पनि अध्यक्ष घिमिरेले बताए । नेपालको दोस्रो ठूलो नाका र मोरंग–सुनसरी कोरिडोरको एक मात्र प्रवेशद्वारको रुपमा रहेको यो पुल, दुई वर्ष अघि यही अवस्था सिर्जना हुँदा आठ महिना सम्म सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरी पूर्वाञ्चलका उद्योगी व्यवसायीहरूले जेनतेन उद्योग व्यावसायलाई जोगाएका थिए ।
पत्रकार सममेलनमा पटक पटक विभिन्न निकायहरूमा पहल पैरवी गर्दा समेत कुनै ठोस कदम चालिएको नदेखिएन मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । उनले भने, “नेपाल सरकारको कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालय, भारतीय राजदूतावास–काठमाडौं, नेपाली राजदूतावास नयाँदिल्ली, भारतका हाइवे डिभिजनलगायत विभिन्न मन्त्रालयहरूमा पहल गर्दा पनि कुनै ठोस काम नभएको अवस्था छ ।
मीरगञ्ज पुलको छेउमा बन्दै गरेको आरसीसी. पुलको निर्माण कार्य सन २००८ मा सुरु भए पनि हालसम्ममा चारवटा पिलर मात्र आधा निर्माण भएका छन् ।
मीरगञ्ज पुल सुचारु नहुँदा पूर्वका उद्योगी व्यवसायीहरूलाई दैनिक करोडौं नोक्सानी भएको छ । गत साउन अन्तिम साता आएको बाढीका कारण केही धसिएको पुल त्यसयता पटक पटक अवरुद्ध हुँदै आएको छ । यसयता यो पुलबाट मालवाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
मीरगञ्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब ५ किलोमिटरको दूरी पर्दछ । घुमाउरो नाकाको प्रयोग गर्दा ड्यामरेज, डिटेन्सन, ढुवानीलगायतका कारण यो क्षेत्रका उद्योगीलाई दैनिक १५ देखि १८ करोड रूपैयाँ नोक्सानी भएको छ ।
प्रतिक्रिया