Logo

अर्थनीति

१० वर्षपछि अमेरिकामा ७५ सय नेपालीको टीपीएस सुविधा खोसियो: यस्तो छ कारण  !


gdpnepal
   २४ जेष्ठ २०८२, शुक्रबार


काठमाडौं । अमेरिकाले नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ ।

सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टीपीएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको छ ।

अमेरिकाको युनाइटेड स्टेट सिटिजनशीप एन्ड इमिग्रेसन सर्भिसेज (युएससीआइएस) ले बिहीबार सूचना प्रकाशित गरेर दुई महिना पछि पूर्ण खारेजीमा जाने जनाएको छ ।

सूचनामा अगष्ट ५ तारिखसम्म अन्य वैधानिक स्टाटस कायम गर्न नसक्नेहरुलाई देश छाड्नका लागि समेत आग्रह गरिएको छ ।

ट्रम्प प्रशासनले नेपालका आप्रवासीहरूको ‘टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) खारेज गर्ने घोषणा गरेको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस)ले गरेको एक संक्षिप्त घोषणामा नेपाली टीपीएस सुविधा प्रयोगकर्ताहरूलाई स्वयं अमेरिका छोड्ने तयारी गर्न आग्रह गरेको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस)ले बिहीबार नेपालको अवस्था सुधार भएको र अब नेपालले टीपीएसको मापदण्ड पूरा नगर्ने बताएको छ ।
 
अमेरिकाले नेपालीलाई यो स्थिति सन् २०१५ जुनमा आएको भूकम्पपछि पहिलोपटक दिएको थियो । टीपीएस सामान्यतया १८ महिनाका लागि दिइन्छ । यो पहिलोपटक २०१६ अक्टोबरमा तत्कालीन राष्ट्रपति बाराक ओबामाको दोस्रो कार्यकालमा बढाइएको थियो ।

ट्रम्प प्रशासनको गृह सुरक्षा विभागले २०१८ मा यो स्थिति खारेज गर्न खोजेको थियो । तर, इमिग्रेसन अधिवक्ताहरूको मुद्दाले विभागलाई टीपीएसलाई २०२० मार्च, २०२१ जनवरी र २०२२ सम्म बढाउन बाध्य बनाएको थियो ।

यसपछि गृह सुरक्षा विभागले फेडरल रजिस्टरमा सूचना जारी गर्दै बाइडेन प्रशासनले निर्वासन सुरक्षा दुईपटक बढाएको र यो २०२५ जुन २४ मा समाप्त हुने बताएको थियो ।

गृह सुरक्षा विभागले आफ्नो सूचनामा उल्लेख गरे अनुसार, नेपालले विगत १० वर्षमा पुनःनिर्माणमा ठूलो प्रगति गरेको छ । सेप्टेम्बर २०२४ को प्रतिवेदन अनुसार, ध्वस्त भएका घरहरूको लगभग ८८ प्रतिशत पुनःनिर्माण भइसकेको बताएको छ ।

टीपीएस अस्थायी हुन्छ, तर यसले धेरैलाई अमेरिकामा काम गर्न र स्थायी भिसाको लागि आवेदन दिन अनुमति दिन्छ ।

“नेपालले भूकम्पपछिको पुनःनिर्माण, वातावरणीय प्रकोप तयारी र प्रतिकार क्षमतामा उल्लेखनीय सुधार गरेको छ,” अमेरिकी गृह सुरक्षा विभागको सूचनामा भनिएको छ, “यसले नेपालले आफ्ना नागरिकको फिर्तालाई पर्याप्त रूपमा व्यवस्थापन गर्न सक्षम भएको देखाएकाले गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विदेश विभागसँग परामर्श गरी यो निर्णय गरेकी छन् ।”

क्रिस्टी नोएमको बिहीबारको निर्णय अनुसार, नेपालीहरूको टीपीएस २०२५ अगस्ट ५ मा समाप्त हुनेछ ।
 
अमेरिकी विदेश विभागले नेपाललाई यात्राको सन्दर्भमा ‘स्तर २ः बढी सतर्कता अपनाउनुहोस्’को रूपमा वर्गीकृत गरेको छ, जुन राजनीतिक हिंसाको जोखिमका कारण हो ।

अमेरिकाले नेपालका लगभग सात हजार ५०० टीपीएस सुविधा बाहकहरूलाई अमेरिका छोड्न तयारी गर्न भनेको छ । उनीहरूलाई सीबीपी होम एपको स्वयं निर्वासन प्रक्रिया सुरु गर्न सुझाव दिइएको छ । 

 

प्रकाशित : २४ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह