काठमाडौं । कोरोना त्रासदीका कारण उपभोक्ताले दैनिक उपभोग्य वस्तुको भण्डारण गर्न थालेका छन् । सोही कारण यस्ता वस्तुको मूल्यवृद्धि र कालोबजारी सुरु भएको छ । तर, बजारको मौज्दात हेर्दा आत्तिनुपर्ने अवस्था भने छैन ।
सरकाका अनुसार खाद्यान्न आपूर्तिमा कुनै समस्या नभएकाले ६ महिनाको लागि पर्याप्त मौज्दात छ । यस्तै, १० महिनालाई पुग्ने नुन गोदाममा छ भने ग्यास पनि १ महिनालाई पुग्ने आइसकेको छ । ग्यासको आयात नियमितरुपमा भइरहेको पनि छ ।
पेट्रोलियम पदार्थमा समेत कुनै समस्या छ्रैन । नेपाल आयल निगमसँग हाल पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भण्डारण ६८ हजार ३ सय ६४ किलोलिटर रहेको छ ।
खाद्य सामग्रीको व्यापार गर्दै आएको सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनसँग १० महिनालाई पुग्ने अर्थात १ लाख ५९ हजार टन नुन मौज्दात छ । हाल नेपालमा मासिक १६ हजार टन नुन खपत हुँदै आएको छ । कर्पोरेसनले ६ महिनालाई पुग्ने आयोडिनयुक्त नुन मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि त्यो भन्दा बढी भण्डारणमा छ ।
यतिमात्र नभइ कर्पाेरेशनसँग गोदाममा हाल २ हजार ५ सय टन र ७ हजार ५ सय टन बाटोमा रहेको समेत गरेर जम्मा १० हजार टन चिनी स्टकमा छ । चिनी उद्योगीसँग १ लाख १ हजार टन चिनी स्टक रहेको जनाइएको छ । मुलुकमा वार्षिक सरदर २ लाख ५० हजार टन खपत हुने गरेको छ । मुलुकको आन्तरिक उत्पादन १ लाख ८० हजार टन छ भने वार्षिक ७० हजार टन विदेशबाट आयात हुन्छ ।
यस्तै , खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६ सय ६९ टन चामल स्टक छ । यो खाद्यान्नले तीन महिना सजिलै धान्छ । त्यस्तै सिमी र तिते फापर गरि १ सय ३० टन मौज्दात रहेको कम्पनीले जनाएको छ ।
यद्यपि, पछिल्लो एक सातामा खाद्यान्नको माग पनि अस्वभाविक रुपमा बढेको छ । सरकारले मास्क र सेनिटाइजरको आयातमा खुकुलो बनाएर आपूर्ति बढाउने प्रक्रिया अगाडि बढाइसकेको छ भने आफ्नो संयन्त्रलाई बजार अनुगमनमा समेत पठाइसकेको छ ।
प्रतिक्रिया