नयाँदिल्ली (एजेन्सी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग हाइड्रोक्सीक्लोरिकिन औषधि अमेरिका पठाइदिन आग्रह गरेको धेरै भएको छैन । ट्रम्पले यो औषधि कोरोनाभाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग सो आग्रह गरेका थिए ।
अमेरिकापछि बेलायतले पनि भारतबाट ३० लाख पारासिटामोल औषधि लैजाने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधि पठाईदिने सहमतिसमेत भएको जनाइएको छ।:
यसरी विकसित मुलुकहरु एकपछि अर्को गर्दै औषधिमा भारतकै भर पर्न थालेको देखिएको छ । भारत विश्वका ठूला औषधि उत्पादकमध्ये अग्रणी मुलुक मानिन्छ । कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि भारतले आफ्नो देशमा उत्पादन हुने २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको थियो।
बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ ।
“भारतसँगको कुराकानीपछि बेलायलतले भारतबाट झण्डै ३० लाख पारासिटामोल पाउने भएको छ,” बेलायती विदेश मन्त्रालयले भनेको छ ।
भारतले उपलब्ध गराउने भनेको औषधी आगामी दुई हप्तामा बेलायत आइपुग्ने र सुपरमार्केटमा राखिने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो विवरणअनुसार बेलायतमा झन्डै १ लाख जना संक्रमित भएका छन् ।
प्रतिक्रिया