काठमाडौं । मुलुकमा हालसम्म पत्ता लागेका कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये तीन जनालाई निको भइसके पनि २८ जनामा अझै कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ रहेको सरकारले जनाएको छ ।
यद्यपि, नेपालमा कोरोना संक्रमण पत्ता लागेकामध्ये सबै नेपाली भने होइनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रमण बाँकी रहेका २८ जनामध्ये आधाभन्दा बढी अर्थात १५ जना भारतीय नागरिक हुन् ।
यसरी हेर्दा प्रतिशतका आधारमा हाल नेपालमा पत्ता लागेका संक्रमितमध्ये ५३.५७ प्रतिशत भने भारतीय नागरिक रहेको खुलेको छ । उनीहरु मुश्लिम धर्मगुरुका रुपमा नेपाल भित्रिएका हुन् । जसमध्ये ३ जना वीरगन्जको छपकैयामा र १२ जना उदयपुरको भुल्के मस्जिदमा फेला परेका हुन् ।
नेपाल–भारत खुला सीमाका कारण यसरी अनियन्त्रित रुपमा मानिसहरु नेपाली भूमीमा प्रवेश गर्दा कोरोना संक्रमण फैलिएको पाइन्छ । भारतमै काम गरेर फर्केका नेपालीमा पनि सुदूरपश्चिम क्षेत्रमा कोरोना संक्रमण देखिएको थियो ।
प्राप्त समाचारअनुसार वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीय नागरिकमा गत साता कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तर, अहिलेसम्म उनीहरूको संक्रमणको स्रोत अझै पत्ता लागेको छैन ।
यस्तै, गत शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसिरहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भयो भने शनिबार थप १ जनामा । यसरी पत्ता लागेका कुल १३ मध्ये एक नेपाली र अरु भारतीय छन् । तर, उनीहरूको पनि संक्रमण स्रोत पत्ता लागेको छैन ।
कोरोना संक्रमितमध्ये काठमाडौंका २ जना र बागलुङकी एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।
प्रतिक्रिया