काठमाडौं । यो साता फेरि भारी वर्षा हुने भएको छ भने माथिल्लो भेगमा हिमपातको पनि सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा यो साता मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
अरब सागरको महाराष्ट्र तटीय क्षेत्रमा उत्पन्न न्यून चापीय अवस्थाले आज (कात्तिक १०) नेपालमा पनि देशभरि नै बादल लागेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा हल्का वर्षा भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात तथा लुम्बिनी र गण्डकी प्रदेशमा भोलि र पर्सि हल्कादेखि मध्यम वर्षा/हिमपात हुने सम्भावना छ ।
भारतीय मौसम विभागका अनुसार, बंगालको खाडीमा मोन्था नामकरण भएको समुद्री आँधी भोलि (कात्तिक ११)देखि तीव्र हुनेछ । यसको गति ९० देखि १०० किलोमिटर प्रतिघन्टाका दरले हुनेछ ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले यसको प्रभाव पूर्वी नेपालमा बुधबारदेखि नै देखिने सम्भावना रहेको बताए । कात्तिक १३ देखि १६ सम्म वाग्मती, मधेस, कोसी प्रदेशमा बढी प्रभाव देखिने उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
“मोन्था समुद्री आँधीको प्रभाव पूर्वी नेपालमा बुधबारदेखि नै देखिने देखिने सम्भावना छ भने बढी प्रभाव कात्तिक १३ देखि १६ सम्म वाग्मती, मधेस र कोसी प्रदेशमा देखिने छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
केही ठाउँमा मध्यमदेखि भारी वर्षा गराउने र मनसुनको जस्तो झल्को दिनेछ । यद्यपि, अरब सागरको प्रभावले आज, भोलि बादल र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको उनले बताए ।
जलवायुविज्ञ उप्रेतीका अनुसार, मोन्था शब्द थाई भाषाबाट लिइएको हो, जसको अर्थ वासनादार फूल भन्ने हुन्छ । समुद्री आँधीको नामकरण समुद्रसँग जोडिएका देशको भाषाबाट गरिन्छ ।










प्रतिक्रिया