एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । ती स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवा उपयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेश, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा फोरजी सेवाका टावरका साथ सुधार गरेको छ ।
एनसेलले मधेश प्रदेशमा १३ नयाँ टावर सञ्चालनमा ल्याएको छ । ती स्थान बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगन्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधवनारायण रहेका छन् । त्यस्तै, कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको बबियाबिर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् ।
बागमती प्रदेशको हेटौँडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । ‘हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताअनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौँ । एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ ।
साथै, आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौँ, जसले हाम्रा ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्नेछ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपंग दत्तले भने ।
फोरजी सेवा विस्तार र सुधार योजना अनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप एक सय ७० भन्दा बढी नयाँ टावर जडानका लागि काम गरिरहेको छ ।









प्रतिक्रिया