काठमाडौं । नेपाल वायुसेवा संचालक संघले सरकारसँग विभिन्न राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ ।
संघले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ तथा अन्य शुल्कहरूमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो ।
संघले २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्न माग गरेको छ । हाल मौसमी शुल्क अन्तर्गत आन्तरिक उडानका लागि प्रत्येक अवतरण वा उडानमा अमेरिकी डलर १० तिर्नुपर्ने व्यवस्था रहेकाले यसले सञ्चालन लागत बढाउनुका साथै यात्रु भाडादर पनि महँगो हुने संघको भनाइ छ ।
‘नेपाल सरकारबाट मिति २०७८.१२.३० मा स्वीकृत विमानस्थल सेवाशुल्क नियमावली, २०७८ मा मौसमी शुल्क अन्तर्गत आन्तरिक उडानका वायुसेवाहरुले प्रत्येक उडान वा अवतरण वापत अमेरिकी डलर १० का दरले मौसमी सेवाशुल्क बुझाउनु परिरहेका कारणले वायुसेवा कम्पनीहरुलाई अत्यधिक संचालन व्ययभार पनि थपिने र उडान भाडा दर समेत अत्यधिक हुन जाने भएकाले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ तत्काल संशोधन गरिनुपर्ने,’ विज्ञप्तिमा उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै पछिल्ला विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले हवाई सेवा क्षेत्र ठूलो दबाबमा परेको संघले जनाएको हो ।
संघका अनुसार विश्वव्यापी रूपमा बढेको कच्चा तेलको मूल्य, मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्व, विगतको कोरोना महामारी तथा २०८२ भदौमा भएको आन्दोलनको प्रभावका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ ।
यसले गर्दा वायुसेवा कम्पनीहरूको सञ्चालन खर्चमा ठूलो वृद्धि भएको छ भने नेपाल आउने पर्यटकहरूको संख्यामा समेत उल्लेखनीय कमी आएको छ।
संघले जानकारी दिएको अनुसार पहिले कुल सञ्चालन खर्चमा इन्धनको हिस्सा ३०–४० प्रतिशत हुने गरेपनि हाल यो बढेर ५५–६० प्रतिशत पुगेको छ । यसले कम्पनीहरूको आर्थिक प्रवाहमा गम्भीर दबाब परेको जनाएको छ ।










प्रतिक्रिया