Logo

कर्पोरेट-बजार

नेपाल-बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल


GDP नेपाल
   २१ कार्तिक २०८२, बिहिबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबिचको व्यापार असन्तुलन घटाउन आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण अनिवार्य भएको बताएका छन् ।


नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्तामा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखिएको बताए ।


उनका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गमा निर्भर रहनुपरेका कारण ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ । उनले नेपाल र बंगलादेशबिच सिधा सडक तथा रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


अध्यक्ष अग्रवालले भने, ‘नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन ।’


उनले बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न सकिने बताए ।
त्यस अवसरमा अध्यक्ष अग्रवालले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य, व्यापारिक प्रदर्शनी, लगानी सम्मेलन र नीतिगत सहजीकरणमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आग्रह गरे ।


चेम्बर पदाधिकारीहरूसँगको भेटवार्तामा राजदूत रहमानले नेपालको निर्यात प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्नका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै दुई देशबिचको सांस्कृतिक तथा शैक्षिक सम्बन्ध नागरिक तहसम्मै उच्चस्तरीय रहेको बताए ।

प्रकाशित : २१ कार्तिक २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह