काठमाडौं । होटल संघ नेपालले कोरोनाभाइरस (कोभिड–१९)बाट प्रभावित होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल ल्याउन माग गरेको छ । संघले होटल व्यवसाय पूर्णरूपमा पुनस्र्थापना नभएसम्म श्रमिकहरूको उचित व्यवस्थापन, बैंकको ऋण तथा घरभाडा व्यवस्थापनका साथै विद्युत् महसुल र स्थानीय सरकारको सम्पति कर लगायतको उचित व्यवस्थापन गर्ने गरी नीति निर्माण गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष सृजना राणाद्वारा बिहीबार जारी विज्ञप्तिमा समयमै यस क्षेत्रको सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायहरूसँग अनुरोध गरिएको छ । संघले कोभिड‐१९ को महामारी नियन्त्रणको लागि नेपाल सरकारले चालेका कदमहरूप्रति ऐक्यवद्धतासमेत व्यक्त गरेको छ ।
संघले खर्च व्यवस्थापनको सिद्धान्त अवलम्वन गर्दै होटल उद्योगको संरक्षण गर्न अति आवश्यक रहेको अन्यथा सन् २००४⁄०५ को स्थिति पुनरावृत्ति हुने संकेत देखिएको जनाएको छ ।
प्रस्तुत छ संघको धारणा जस्ताको तस्तैः
विश्वव्यापीरूपमा फैलिएको महामारी कोभिड‐१९ को संक्रमणको प्रभावले मानव जीवनको अस्तित्वमा गम्भीर सम्स्याहरू उत्पन्न भईरहेको हुनाले विश्वका प्राय सबै मुुलुकहरूले लकडाउन गरिहेको अवस्था विद्यमान् छ । विश्वलाई नै आक्रान्त पारेको महामारीले नेपालमा समेत प्रत्यक्ष प्रभाव परिसकेको छ । विश्वको पर्यटन उद्योगसँग सम्बन्धित सम्पूर्ण व्यवसायहरूमा नकारात्मक असर परेको अवस्थामा नेपाली पर्यटन तथा आतिथ्यता उद्योग समेत ठप्प भएको तथ्य सर्वविदितै छ । परिणामतः नेपालले पनि मार्च २२, २०२० देखि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवाहरु बन्द ग¥यो । स्पेन, अष्ट्रेलिया लगायत कतिपय युरोप तथा अमेरिकाका मुलुकहरूले डिसेम्वर २०२० सम्म आफ्ना नागरिकहरूलाई भ्रमणमा नजान तथा विदशीहरूलाई समेत घुम्न नआउन भनी ‘ट्राभल अड्भाइजरी’ जारी गरिसकेको अवस्था छ । साथै, अमेरिका, युरोप लगायत अन्य क्षेत्रका मुलुकहरूले समेत आफ्ना नागरिकहरूलाई भ्रमणमा प्रतिबन्ध लगाई सुरक्षा सावधानी अपनाउन सक्ने प्रवल संभावना छ । यस्तो अवस्थामा सन् २०२१ को जनवरी देखि मात्र अन्तर्राष्ट्रिय हवाई सेवा क्रमशः सुचारू हुने र त्यसपछि मात्र पर्यटकहरूको आवागमन सुरू हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।
सन् २००३ देखि सन् २००५ सम्मको दुई बर्षको अवधिमा होटलहरूको कूल आम्दानीमा करिव ५० प्रतिशतले ह्रास आएको थियो । जसको कारणले करिव ३० बर्ष देखि अस्तित्वमा रहेका काठमाण्डौका ख्यातिप्राप्त होटलहरू (नारायणी, ब्लुस्टार, शेर्पा, उडल्याण्ड लगायत) ले आफ्नो खर्च व्यवस्थापन गर्न नसकेर सेवा बन्द गर्नु परेको थियो । सो समयमा नेपाल सरकारले कुनै प्रकारको उचित कदम चाल्न नसकेको कारणले यी होटलहरूले बन्द गर्नु भन्दा कुनै उपाय नभएको र सो समयमा समेत कूल खर्चको सबैभन्दा बढी खर्च कर्मचारी व्यवस्थापन (पारिश्रमिक शीर्षक) मा नै भएको जानकारी गराइन्छ । यसर्थ, असामान्य परिस्थितिमा व्यवसायिक अस्तित्वको पूर्वशर्त खर्च कटौती नै हो । तत्कालिन समयमा पनि खर्च कटौती गर्न सकेको भए सायद आजका दिनसम्म यी होटलहरूको अस्तित्व हुन सक्ने सम्भावना थियो ।
नेपालको पर्यटनमा भविष्य उज्जवल रहेको ठानी व्यवसायीहरूले अत्यधिक लगानी गरी नेपालमा नै रोजगारीको व्यवस्थापन गर्ने महान् उद्धेश्यका साथ नयाँ‐नयाँ ब्राण्डका होटल कम्पनीहरूको स्थापना भइरहेको र यस व्यवसायमा अत्यन्त चासो बढिरहेको समयमा उत्पन्न भएको विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कूल आयमा करिव ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण भएकोले हाल सम्म अस्तित्वमा रहेका होटल उद्योगहरूले सेवा बन्द गर्नु पर्ने अवस्था आएको छ । सामान्यतया पूराना स्थापित होटलहरूको अधिकतम् व्ययभार श्रमिक व्यवस्थापनमा, नयाँ होटलहरूको ऋण व्यवस्थापनमा र पर्यटकीय स्तरका साना होटलहरूको अत्यधिक खर्च घरभाडा लगायतका शीर्षकमा हुने हुँदा यो परिस्थितिमा खर्च व्यवस्थापनको सिद्धान्त अवलम्वन गर्दै होटल उद्योगको संरक्षण गर्न अति आवश्यक छ । अन्यथा सन् २००४⁄०५ को पुनरावृत्ति हुने संकेत देखिन्छ ।
यसै सन्दर्भमा, कतिपय पर्यटकीय होटलहरूले सेवा बन्द गर्ने सम्मका निर्णय गर्नु परेको भनि यस होटल संघ नेपालमा जानकारी समेत गराएको यस कठिन अवस्थामा श्रम ऐन, नियम भन्दा कसरी ‘बाँच्ने र बचाउने’ भन्ने विषयलाई सर्वोपरी राख्दै विशेष व्यवस्था गर्न अत्यावश्यक छ । एकातिर नेपालको पर्यटकीय होटलमा काम गर्ने श्रमिक तथा कर्मचारीहरूले प्राप्त गर्ने सेवा सुविधालाई हेर्ने हो भने अन्य उद्योगको भन्दा फरक र उच्च समेत रहेको छ भने नेपालको होटल उद्योगमा सन् २०१९ को कूल आम्दानीको करिव ४० प्रतिशत कर्मचारीको सेवा सुविधामा खर्च भएको देखिएको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कूल आम्दानी केवल १० प्रतिशत भन्दा न्यून हुने अध्ययनको आधारमा होटलहरूले कुनै पनि हालतमा खर्च धान्न नसक्ने तथ्य स्पष्ट छ ।
होटल उद्योगले नेपालको पर्यटनको विकासमा अतुलनीय योगदान गर्दै मुलुकको अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिबृद्धिमा खेलेको केन्द्रीय भूमिका उदाहरणीय छ । यसर्थ, अर्बौ रूपँैयाको लागानी मार्फत होटल उद्योगले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा वहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको विश्लेषण गर्न विलम्ब नगरियोस् ।
कोभिड‐१९ को महामारी नियन्त्रणको लागि नेपाल सरकारले चालेका कदमहरू प्रति होटल संघ नेपालले ऐक्यवद्धता व्यक्त गर्दै यो विषम परिस्थितिमा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्दै पूर्णरूपमा पुनस्र्थापना नभए सम्म श्रमिकहरूको उचित व्यवस्थापन, बैंकको ऋण तथा घरभाडा व्यवस्थापनका साथै विद्युत महसुल र स्थानीय सरकारको सम्पति कर लगायतको उचित व्यवस्थापन गर्ने गरी नीति निर्माण गर्नलाई नेपाल सरकार तथा सरोकारवाला निकायहरूसँग हार्दिक अनुरोध गर्दछौं ।
सृजना राणा
अध्यक्ष, होटल संघ नेपाल
प्रतिक्रिया