काठमाडौं । भाटभटेनी सुपरस्टोरले एमआरपीको बारकोड राख्ने क्रममा सावधानी नअपनाउँदा गल्ती भएको भन्दै प्रष्टीकरण दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई एमआरपीभन्दा बढी मूल्य लिएर सामान बिक्री गरेको भन्दै सोमबार ३ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
वाणिज्यको कारबाही पछि चर्को आलोचना खेपेको भाटभटेनीले स्पष्टीकरण दिँदै विज्ञप्ति सार्वजनिक गरेको छ भने उक्त सामान भाटभटेनीमार्फत बिक्री गर्ने काष्ठमण्डप खाद्य उद्योगले यसमा भाटभटेनीको कमजोरी नभइ आफूहरुको गल्ती भएको स्वीकार गरेको छ ।
काष्ठमण्डप र भाटभटेनी दुवै कम्पनीले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारि गर्दै स्पष्टकरण दिएका हुन् । भाटभटेनीले जारी गरेको विज्ञप्तीमा बढी मूल्य लिनुमा आफ्नो कुनै हात नभइ काष्ठमण्डप खाद्य उद्योगको हात रहेको जनाएको छ ।
उद्योगले सिमित कर्मचारीबाट काम गराउँदा कम अनुभवी कर्मचारीले २५० ग्राम र ५०० ग्रामको लाखामरी मसलाको प्याकेटमा एउटै वारकोड स्टिकर टाँसेको पत्ता लागेको र सोही बारकोड स्टिकर भाटभटेनीले कम्प्युटरमा रिड गर्दा बढी मूल्य देखिएको कम्पनीले स्पष्ट पारेको छ ।
भाटभटेनीले भनेको छ– प्राविधिक र कानुनी रुपमा यो गल्ती हो भन्ने हामि स्विकार्छौ। तर यो उपभोक्ता ठग्ने वा चोरबाटो बाट धेरै पैसा कमाउने नियतले नगरिएको प्रष्ट पार्न चाहन्छौं । विगतमा नाकाबन्दी र भूकम्प लगायतका अफ्ठेरो परिस्थितिमा पनि भाटभटेनीले उपभोक्तालाई खुद्रा मूल्य भन्दा सस्तोमा सामान उपलब्ध गराएको भन्दै अहिले मानवीय त्रुटीले भएको एउटा घटनालाई लिएर गलत धारणा नबनाउन आग्रह गर्दछौं ।
यता काष्ठमण्डप खाद्य उद्योगले जारी गरेको विज्ञप्तीमा भनिएको छ– लकडाउनका कारण सिमित कर्मचारी मात्रै काममा आएको र वारकोडको गहिरो जानकारी नभएको कर्मचारीबाट २५० ग्राम र ५०० ग्रामको ५० वटा लाखामरी मसलाको प्याकेटमा एउटै वारकोड स्टिकर टाँसिन गएकोले अनुगमनका क्रममा सोही वस्तुमा बढि मूल्य फेला परेपछि विभागले कारबाही गरेको हो ।
काष्ठमण्डपको विज्ञप्तीमा अगाडि भनिएको छ– यसलाई भाटभटेनी वा उद्योगको गलत नियतको रुपमा नबुझी अफ्ठ्यारो परिस्थितिमा सिमित जनशक्तीबाट काम गराउँदा भएको प्राविधिक त्रुटीका रुपमा बुझिदिन सबैलाई अनुरोध गर्दछौं ।
प्रतिक्रिया