काठमाडौं । लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ ।
सहभागीहरुले आगामी जेठ १८ सम्म फोटोहरु पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागीहुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही १० हजार नगद पुरस्कार प्राप्तगर्नेछन् ।
बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अघि बढाउने बताए ।
नेपाल पर्यटन बोर्डले चार वर्ष अघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपालफोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो ।
बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तर रुपमा भइरहेको छ । यस अभियानलाई अझ ब्यापक बनाउन फोटो नेपाल डट ट्राभल सुरु गरिएको हो । हाल यसमा २ हजार बढी सदस्यहरुका २० हजार फोटोहरु संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्ने र प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
सहभागीता सम्बन्धमा जानकारी https://photonepal.travel/blog/nepal-from-your-window लिङ्कमा रहेको उल्लेख छ ।
प्रतिक्रिया