काठमाडौं । नेपालमा कुल कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ८२ पुगेको छ भने जसमध्ये १६ जना निको भइसकेका छन् । उपचाररत नागरिकको स्वास्थ्यअवस्था समेत सामान्य नै रहेकाले स्थिति भयावह भने भइसकेको छैन ।
मंगलवार बिहान प्रदेश ५ को नेपालगन्जमा थप सात जनामा कोरोना संक्रमण देखियो । जसमा तीन पुरुष र चार महिला रहेका छन् । यसअघि आइतबार पनि नेपालगन्जमा १५ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
नेपालगन्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न थालिएको थियो । यसरी कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा ठूलो संख्यामा संक्रमित भेटिइसकेका छन् ।
भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको थियो । त्यसै क्रममा शुक्रवार पहिलो संक्रमण पुष्टि भएको थियो ।
यसरी अब नेपालगन्जमा मात्र कोभिड–१९ भएका व्यक्तिको संख्या २३ पुगेको छ र अझै कति बढ्ने हो भन्ने अनुमान गर्न गाह्रो छ ।
विश्व स्वास्थ्य संगठनले मुलुकभित्र कुनै व्यक्तिमा कोरोना संक्रमण देखिनुलाई पहिलो चरण र मुलुकभित्रै एक नागरिकबाट अर्को नागरिकमा सर्नुलाई दोस्रो चरण भनेको छ । यस्तै, समुदायमै कोरोना संक्रमण फैलिनुलाई तेस्रो चरण र देशैभर संक्रमण फैलावटलाई चौथो तथा अन्तिम चरण भनेको छ ।
सरकारले सुदूरपश्चिममा भारतबाट आएका युवकबाट उनकी भाउजुलाई कोरोना सरेलगत्तै कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो । तर, उदयपुर र नेपालगन्जमा समुदायमै कोरोना फैलिएको पुष्टि भइसक्दा पनि तेस्रो चरणमा प्रवेश गरेको अझै घोषणा भएको छैन ।
सरकारले समुदायमा फैलिएको छैन भने पनि त्यसलाई पत्याउने आधार देखिँदैन । परीक्षणको दायरा बढाउन साधन स्रोत नभएकाले सरकारले यसलाई लुकाउन खोजेको विज्ञहरुको आशंका छ । सोमवार अपराह्नसम्म प्राप्त विवरणअनुसार पीसीआर विधिबाट देशभरि १३ हजार ६०० वटामात्र परीक्षण भएका छन् ।
नेपालमा अहिलेसम्म कर्णाली प्रदेशबाहेक अन्य छवटा प्रदेशमा कोरोनाभाइरस भेटिएको छ । अहिले सबैभन्दा बढी संक्रमितको संख्या प्रदेश नं १ मा छ ।
प्रतिक्रिया