काठमाडौं । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले आफूलाई प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै निर्वाचनका लागि उम्मेदवारका रुपमा सिफारिस गरेका छन् ।
आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि दर्जन बढी आकांक्षीको नाम सिफारिस गरेका लामाले प्रतिनिधिसभातर्फ समानुपातिकका लागि ‘आदीवासी जनजाति पुरुष’ क्लष्टरमा सिफारिस गरेका छन् ।
यस्तै, लामाले राष्ट्रियसभा निर्वाचनका लागि आफ्नो नााम पहिलो नम्बरमा सिफारिस गरेका छन् ।
लामाले आफू पार्टी जिल्ला सभापति भएको, २०३६ सालदेखि क्रियाशील रहेको तथा हालसम्म कुनै लाभको पदमा नरहेको भन्ने तीन आधारसहित आफैंलाई दोहोरो सिफारिस गरेका हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि दोलखाबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ ।
पहिलो नम्बरमा पूर्वजिल्ला सभापति ताराबहादुर कोइरालालाई राखिएको छ । कोइराला २०५६, २०६४ र २०७० को निर्वाचनमा दोलखा २ बाट पराजीत भएका थिए भने २०७४ र २०७९ को निर्वाचनमा टिकट पाएका थिएनन् ।
दोलखा कांग्रेसले दोस्रो नम्बरमा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कुन्दनराज काफ्लेलाई सिफारिस गरेको छ ।
कांग्रेसका लोकप्रिय युवा नेता काफ्लेको सिफारिसलाई भने ‘नेपाली कांग्रेस केन्द्रिय समितिको उम्मेदावर सिफारिस परिपत्र बमोजिम वर्तमान बागमति प्रदेश सभा सदस्य भएको कारण सिफारिस गर्न नमिल्ने भएता पनि वहाले ईच्छा जाहेर गरि विधिवत उम्मेदावरी सिफारिस माग गरेको हुनाले’ उल्लेख गरिएको छ ।
तेस्रोमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नाम सिफारिस गरिएको छ ।
यस्तै, चौथो नम्बरमा प्रदेश समिति सदस्य प्रभुराम श्रेष्ठ र पाँचौँ नम्बरमा पूर्व महासमिति सदस्य विनिता अधिकारीको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्व जिल्ला सभापति उद्धवराज काफ्लेसहित बालकृष्ण थापा, रोचना उप्रेती, पासदिकी तामाङ, छिरिङडोल्मा शेर्पा, प्रतिभा उप्रेती र सुमिका तामाङको नाम सिफारिस भएको छ ।
राष्ट्रियसभातर्फ जिल्ला सभापति लामाले आफूसहित पूर्वसभापति रुद्रबहादुर खड्काको नाम सिफारिस गरेका छन् ।










प्रतिक्रिया