काठमाडौं । २५६४ औं बुद्ध जयन्तीका अवससरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामनामा भनिएको छ– सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा कोरोना संक्रमणको स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् ।
प्रधानमन्त्रीले अगाडि भनेका छन्– यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ ।
सरकारले लकडाउन लम्ब्याएको तर यससँगै खुकुलो बनाएको भोलिपल्टै आएको यस्तो सन्देशले धेरैलाई आश्चर्यचकित बनाएको छ । देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले आम सर्वसाधारणको मनोबल गिर्नसक्ने चिन्ता विज्ञहरुले गरेका छन् ।
त्यसो त कोरोनाकै बहानामान सत्ता संकट लम्ब्याउने र पार्टीभित्र गुमेको बहुमत र जनताको नजरमा गिरेको छवि पुनस्र्थापित गर्ने प्रयासमा लागेको भन्दै उनको आलोचना हुँदै आएको छ ।
प्रधानमन्त्रीले जनतालाई आतंकित पार्ने काम गरिरहेको सरोकारवालाहरुको टिप्पणी छ । यसै क्रममा जनस्वास्थ्यविद् डा. शरदराज वन्त र इपिडिमिओलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीको टिप्पणी मननीय देखिन्छ ।
वन्त भन्छन्– आतंकित नै हुनुपर्ने अवस्था त छैन तर भयावहलाई बुझ्न एकदम सतर्क चाहिँ हुनैपर्छ । मरासिनीका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा स्थिति भयावह हुन सक्ने भन्नुको सट्टा नआत्तिने किसिमले ढाडस दिनेगरी सचेत गराउन सक्थे ।
प्रधानमन्त्रीको सन्देशमा यी यी काम गरे कोभिड–१९ रोगबाट बच्न सकिनेरहेछ, यी यी काम चाहिँ नगर्नूस्, व्यवहार परिवर्तन गर्नूस् र बच्नूस् भनेको भए असाध्यै राम्रो हुने उनको भनाइ छ ।
नेपालमा हालसम्म १०१ जनामा कोरोना संक्रमण देखिए पनि नियन्त्रणबाहिर छैन । जनताले लकडाउनको पालना गर्दा राजधानी काठमाडौंलगायत जनघनत्व बढी भएका मुख्य सहरी क्षेत्रमा संक्रमण फैलिएको छैन ।
यद्यपि, भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको समयमै परीक्षण हुन नसक्दा कोरोना संक्रमणको फैलावट कुन स्थितिमा छ भनेर एकीन गर्न गाह्रो छ । सरकार परीक्षणको मामिलामा भने चुकेको छ ।
कोरोना परीक्षणका लागि आवश्यक उपकरण र उपचार एवं सतर्कताका लागि चाहिने आवश्यक बन्दोवस्तीका सामग्री आयातमा उच्च सरकारी चलखेलका कारण बदनामसमेत छ ।
यस्ता सामग्री नेपाली सेनामार्फत खरिद गर्ने भनिए पनि असफल हुँदै आएको छ र परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने बेलामा झन् साँघुरिँदै गएको अवस्था छ ।
प्रतिक्रिया