Logo

Banner-news

स्वास्थ्यको ‘रेड जोन’ र उद्योगको ‘येल्लो जोन’मा काठमाडौंः संक्रमित शून्य, जोखिम भने उच्च !


GDP Nepal
   ३० बैशाख २०७७, मंगलबार


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या शून्य रहे पनि जोखिम भने उच्च रहेकाले सरकारले जनस्वास्थ्यका दृष्टिकोणले यसलाई रेड जोनमा राखेको छ ।

उपत्यकामा कोरोनाका एक्टिभ केस नरहे पनि उपत्यकाबाहिरबाट लुकिछिपी भित्रिने क्रम रोक्न सरकार असफल भएसँगै जोखिम भने उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले जनाएको छ । उपत्यकाभित्र तीन जनामा संक्रमण देखिए पनि उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

विभागका अनुसार काठमाडौं उपत्यका उच्च जोखिमको सूचीमा छ । जनसंख्याको अनुपातमा उपत्यकामा संक्रमण निकै कममा देखिए पनि मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले उपत्यकालाई उच्च जोखिममा राखिएको हो ।

सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ । काठमाडौं रेड जोनमा परेकाले तत्काल सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने छैनन् ।

तर, औद्योगिक तथा व्यावसायिक दृष्टिकोणले भने काठमाडौंलाई रेड जोनमा नराखी येलो जोनमा राखेको छ । जसका कारण सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दिएको छ ।

लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएपछि सडकमा आवागमन बाक्लिएको छ र प्रहरीले यसलाई नियन्त्रण गर्न सकेको छैन । प्रहरीको अनुभवमा कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन् ।

काठमाडौंमा अब जोखिमपूर्ण ठाउँबाट आएका तथा सम्भावित संक्रमितहरूको सम्पर्कमा रहेका र संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएकालाई पनि परीक्षणको दायरामा ल्याइनेछ । ज्वरो आएका र खोकी लागेका कतिपय बिरामीहरूको पनि कोरोनाभाइरस परीक्षण गरिने जनाइएको छ ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह