काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । उनले नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार नुवाकोटको ढिकुरेमा रहेको सम्पर्क कार्यालयमा आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा उनले आगामी निर्वाचनलाई नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र विकासको दिशासँग जोडिएको निर्णायक अवसरका रूपमा चित्रण गरे ।
उनको प्रतिज्ञापत्रमा लेखिएको छ, ‘यो भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए, अब यही ऐतिहासिक पहिचानलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्दै नुवाकोटलाई नयाँ पहिचान दिने समय आएको छ ।’
महतले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र जनजीवन सुधारलाई आफ्नो प्राथमिकता बताए ।
पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेपनि यसअघि नै नुवाकोटको विकासमा योगदान दिएको उल्लेख गर्दै उनले मतदातासँग विश्वासलाई मतमा परिणत गर्न अपिल गरे ।
उनले नुवाकोटलाई बागमती प्रदेशभित्र रणनीतिक जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए ।प्रतिज्ञापत्रमा नुवाकोटको विकासको आधार पूर्वाधार विस्तारलाई बनाइएको छ ।
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने, बालाजु–रानीपौवा–पिपलटार सडकको बाँकी खण्ड पूरा गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक सम्पन्न गर्ने, तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक मार्ग निर्माण पूरा गर्ने मुख्य योजनाहरूमा राखिएको छ ।
यसबाहेक पालिकास्तरका सडक, पुल, सिंचाइ र खानेपानी व्यवस्थालाई प्राथमिकतामा राखिएको छ । लिखु र तादी नदी कटान नियन्त्रण गर्दै सिंचाइ विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।
पूर्वअर्थ मन्त्री समेत रहेका डा. महतको प्रतिज्ञा पत्रमा नुवाकोटको समृद्धिको आधार कृषि भएको उल्लेख गर्दै आधुनिक सिंचाइ, मल, बीउ र बजार पहुँच सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
स्थानीय उत्पादन—स्ट्रबेरी, ट्राउट माछा, आलु, किवी, कफी लगायतलाई ब्राण्डिङ गर्दै प्रशोधन उद्योगसँग जोड्ने, शीतभण्डार निर्माण गर्ने र बजार मूल्य सुनिश्चित गर्ने योजना उनले सार्वजनिक गरे ।
किसानलाई बाँदर, बँदेल, दुम्सी र मृगबाट हुने क्षति रोक्न नीतिगत समाधान खोजिने पनि उनले बताए ।
प्रतिज्ञापत्रमा ककनी, चिसापानी, सूइरेचौर, पञ्चकन्या लगायत क्षेत्रलाई पर्यटन केन्द्र बनाउने गुरुयोजना बनाउने उल्लेख छ ।
दुप्चेश्वर र कपिलेश्वर जस्ता धार्मिक स्थललाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक गन्तव्य बनाउने, गोसाईकुण्ड जाने पदमार्ग र केवलकार सम्भावना अध्ययन गर्ने योजना पनि उनले अघि सारेका छन् ।
महतले प्रदेशस्तरीय आवासीय प्राविधिक तथा सूचना प्रविधि शिक्षालय स्थापना गर्ने, डिजिटल शिक्षा प्रणाली लागू गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
युवालाई विदेश पलायन रोक्न कृषि, पर्यटन, उत्पादन र सूचना प्रविधिमा सीप विकास कार्यक्रम, उद्यमशील कोष र सार्वजनिक–निजी साझेदारीमा उद्योग स्थापना गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ ।
महिला सशक्तिकरण, स्वरोजगार, खेलकूद पूर्वाधार र युवा क्षमता विकासमा पनि योजनाबद्ध पहल गरिने उल्लेख गरिएको छ ।
महतले विकास कुनै दलको नभई जनताको साझा अभियान भएको उल्लेख गर्दै स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र समुदायलाई एउटै लक्ष्यमा जोड्ने बताइएको छ ।
मेरो प्रतिज्ञा
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, जय नेपाल !
हामी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा आइपुगेका छांै । यस पटक तपाईँले दिने मतले नेपालको राष्ट्रियता, लोकतन्त्र,
संवैधानिक व्यवस्थाको रक्षा, राजनीतिक स्थिरता र नेपालको आर्थिक–सामाजिक विकासलाई निश्चित गति र दिशा दिनेछ ।
नेपाली कांग्रेसको नेतृत्वमा संवैधानिक र लोकतान्त्रिक पद्धति सुरक्षित हुन्छ ।
राजनीतिक स्थिरता कायम हुन्छ र विकासले गति लिन्छ भन्ने यो बलियो आधार हो ।
म तपाईंहरूको विश्वासलाई मतमा परिणत गराउन पहिलो पटक तपाईंहरूको बीचमा उम्मेदवारको रूपमा उपस्थित भएको छु । यही भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए—म त्यही ऐतिहासिक पहिचानलाई आर्थिक सामाजिक रुपान्तरणका लागि पूर्वाधार विकास, कृषि, पर्यटन, उर्जा, व्यवसाय र प्रविधि मार्फत नयाँ चिनारी दिन प्रतिबद्ध छु ।
मेरो प्रतिबद्धता
म परिणामका लागि काम गर्छु । कुरामा होइन काममा विश्वास गर्छु । विकास,
सुशासन, जनताको आर्थिक–सामाजिक समृद्धि र भ्रष्टाचारको अन्त्यकालागि सदैव प्रतिबद्ध थिएँ, छु र रहनेछु । म पहिलो पटक नुवाकोट क्षेत्र नंः १ मा प्रत्यक्षतर्फको उम्मेदवार बनेको छु, यहाँबाट प्रत्यक्ष निर्वाचन नलड्दै यस क्षेत्रको विकास निर्माणमा मैले गरेका कामहरु यहाँहरु सामुन्ने छर्लङ्गै छन् । त्यसैले तपाईंको मन र मत जित्ने मेरो सबैभन्दा ठूलो लक्ष्य जनताको सेवा र विकासको गति अगाडि बढाउनकालागि हुनेछ ।
नुवाकोट, म जन्मेको ठाँउको विकास र समृद्धिको चाहाना पनि हो । म सधैं नुवाकोटलाई नेपालको विकासको नक्सामा अग्रस्थानमा ल्याउने सोचसहित काम गर्दै आएको छु । बागमती प्रदेश भित्रको रणनीतिक जिल्लाको रूपमा यसको सम्भावना उपयोग गर्ने दीर्घकालीन योजना बनाएको छु ।
विकासका ठूला योजना ल्याउन सक्ने, बजेट व्यवस्थापन गर्न सक्ने र काम सम्पन्न गराउन सक्ने अनुभवसहित आएको छु । मेरो राजनीतिक शैली—प्रतिबद्धता कम, उपलब्धि धेरै हो । नुवाकोट क्षेत्र नं। १ को समग्र विकासका लागि प्रतिबद्ध छु ।
क्षेत्रगत प्रतिज्ञा
पूर्वाधार विकास–मेरो पहिलो प्राथमिकता
–सम्भाव्यता अèययनको क्रममा रहेको टोखा छहरे सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडी बढाउन लाग्ने छु । जसले काठमाडौंको हालको दूरी कम गरी यहाँको विकासलाई गति दिन थप मद्दत पुग्नेछ ।
–हाम्रो पहलमा निर्माण प्रक्रियामा रहेको बालाजु–रानीपौवा–पिपलटार ९पासाङ ल्हामु
राजमार्ग० सडकका बाँकी खण्ड पूरा गर्न लाग्ने छु ।
– हाम्रो पहलमा निर्माण प्रक्रियामा रहेको ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडकको बाँकी खण्ड निर्माण सम्पन्न गर्न लाग्ने छु ।
– हाम्रो पहलमा निर्माण प्रक्रियामा रहेको तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक
राजमार्ग निर्माण सम्पन्न गर्न लाग्ने छु ।
–यी लगायतका हाम्रो पहलमा अगाडि बढेका निर्माणाधिन प्रमुख सडकखण्डहरु पूरा गर्न लाग्ने छु ।
–कृषि, पर्यटन लगायतका सम्भाव्य स्थानहरुलाई गाउँपालिकाका केन्द्रसंग जोड्ने महत्वपूर्ण सडक र पुलहरु जोड्न लाग्ने छु ।
–सबै पालिका अन्तर्गत गाउँवेशी जोड्ने प्रमुख सडकहरु निर्माणमा जोड दिने छु ।
–लिखु र तादी नदि कटानलाई नियन्त्रण गर्दै खेतियोग्य जमिनमा सिंचाईको पूर्ण व्यवस्थाकालागि विशेष पहल गर्नेे छु ।
–मानव जीवनको आधार शुद्ध पिउने पानीको व्यवस्थाकालागि विशेष पहल गर्नेे छु
।
–हरेक विकास निर्माणका आयोजनाहरु पूर्णरुपमा वातावरणीय अèययनका आधारमा लागु गर्नुपर्ने व्यवस्थालाई पैरवी गर्दै सिसडोल–बञ्चरे डम्पिङ साइट प्रभावित क्षेत्र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुरुप पूर्ण कार्यान्वयनमा लैजान पहल गर्नेे छु ।
–हामीले विद्युतीकरणलाई लगभग पूर्णता दिएका छौं । उद्योग, व्यवसाय र बढ्दो विद्युतीय उपकरणहरुको प्रयोगको माग धान्न विद्युतीकरणको गुणस्तर र क्षमता बढाउन लाग्ने छु ।
कृषि र किसानलाई समृद्ध बनाउने ठोस योजना
–आधुनिक सिंचाइ, मल, बीउ र बजारको पहुँच सुनिश्चित गर्न पहल गर्नेे छु ।
–किसानका स्थानीय उत्पादनको ब्राण्डिङ र जडिबुटीलाई प्रशोधन उद्योगसँग जोड्न पहल गर्नेे छु ।
–स्थानीय उत्पादनहरुको संरक्षण र बजार मूल्यको सुनिश्चितता मेरो मुख्य èयेय हो
। म जिम्मेवारीमा रहँदा आलु, प्याज, स्याउ लगायत स्थानीय उत्पादनको
संरक्षणकालागि आयातित वस्तुहरुसँग प्रतिस्पर्धाबाट हुने क्षति रोक्न भन्सारमै मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको र उत्पादनमा आधारित अनुदानको प्रावधान अगाडि बढाएको यहाँहरु सबैलाई अवगत नै छ ।
–नुवाकोटमा उत्पादन हुने स्ट्रबेरी, ट्राउट माछा, मूला, आलु, किवि, कफि र पशु तथा कुखुरा, धान लगायत खाद्य वस्तुलाई बजारीकरण गर्न पहल गर्ने र शीतभण्डारहरु निर्माण गरी बजारमूल्यको सुनिश्चितता गराउन पहल गर्नेे छु ।
–किसानहरुको प्रमुख समस्याको रुपमा रहेको बाँदर, बँदेल, दुम्सी र मृगबाट हुने क्षति नियन्त्रण र व्यवस्थापनकालागि नीतिगत निर्णय गरी समाधान गर्न पहल गर्ने छु ।
– नुवाकोटका विभिन्न पालिकामा भैरवि र गोसाईकुण्ड गूठी अन्तर्गत पर्ने जमिनलाई रैकर बनाउन पहल गर्ने छु ।
पर्यटनबाट समृद्धि
–ककनी, सूइरेचौर, बाघमारा, तलाखु चिसापानी, पञ्चकन्या कोटथोकदेखि गोल्फुभञ्ज्याङ कुटुङसाङसम्मका क्षेत्रहरु लगायतका अन्य सम्भाव्य पर्यटकीय क्षेत्रहरुको गुरु योजना तयार गरी विकास गर्न लाग्ने छु ।
–दुप्चेश्वर, कपिलेश्वर महादेव लगायतका महत्वपूर्ण धार्मिक स्थलहरुलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल गर्नेे छु ।
–नुवाकोट क्षेत्र नंः १ हुँदै गोसाईकुण्ड जाने पदमार्गहरु निर्माण साथै केवलकार मार्फत समेत जोड्न पहल गर्ने छु ।
–यहाँ क्षेत्रका महत्वपूर्ण पर्यटकीय सम्भाव्य क्षेत्रहरु– साहसिक पर्यटन, रिसोर्ट, होमस्टे र खेल पर्यटन विकास गर्न पहल गर्ने छु ।
शिक्षा र स्वास्थ्य
–सूचना प्रविधिको हालको विकासक्रमलाई आत्मसाथ गर्दै वागमती प्रदेशस्तरीय आवासीय प्राविधिक एवम् सूचनाप्रविधि शिक्षालय स्थापना गर्न पहल गर्ने छु ।
–हरेक क्षेत्रमा प्रतिस्पर्धी जनशक्ति तयार पार्न गुणस्तरीय पठनपाठनकालागि
सुविधायुक्त विद्यालय, प्राविधिक शिक्षा र डिजिटल शिक्षण प्रणाली अवलम्बन गर्न पहल गर्ने छु ।
–नुवाकोट क्षेत्र नंः १ मा विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनमा जोड दिने छु ।
युवालाई नुवाकोटमै अवसर
–युवा उद्यमशीलतालाई रोजगारीको प्रमुख आयामकारुपमा विकास गर्न कृषि, पर्यटन, उत्पादन र सूचना प्रविधिसम्बन्धि सीप विकास, उद्यमशील कोष र उद्यम कार्यक्रम अगाडि बढाउन पहल गर्ने छु ।
–सार्वजनिक, निजी साझेदारीमा कृषि, पर्यटन, उद्योग, व्यवसाय स्थापना र प्रवद्र्धनकालागि आवश्यक पहल गर्ने छु ।
उद्योग र लगानी वातावरण
–काठमाडौ उपत्यकाबाट नजिक रहेको नुवाकोटलाई सम्भावित औद्योगिक र व्यवसायीक केन्द्र बनाउने योजना अघि बढाउने छु ।
युवा तथा महिला
–महिलाहरुको सशक्तिकरण, सिपविकास र स्वरोजगारका नयाँ अवसरहरु सिर्जना गर्न ठोस पहल गर्ने छु ।
–खेलकूदको पूर्वाधार विकास र युवा खेलाडीको क्षमता अभिवृद्धि गर्न योजनाबद्ध पहल गर्ने छु ।
सबैको सहभागिता–साझा समृद्धि
–विकास कुनै पार्टीको होइन—जनताको हो । विकास निर्माणका हरेक आयोजना जनताको प्रत्यक्ष सहभागिता र प्राथमिकताका आधारमा अघि बढाउने छु ।
–समृद्ध नुवाकोट निर्माणकालागि स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र
समुदायलाई एउटै लक्ष्यमा जोड्नेछु । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
अतः आगामी फागुन २१ गते हुने निर्वाचनमा ‘समृद्ध नुवाकोट निर्माण अभियान’
सफल बनाउन सँगसँगै हिडौं ।
आधुनिक, रोजगारीयुक्त, शिक्षित र विकसित, समृद्ध नुवाकोट बनाउन अनुभवी,
सक्षम र काम गर्ने नेतृत्व रोज्नुहुनेछ भन्नेमा विश्वस्त छु ।
रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराउनु हुन सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाइहरुमा म पुनः हार्दिक अपिल गर्दछु ।
तपाईंको मत – विकासको मत
तपाईंको विश्वास – मेरो जिम्मेवारी
नारा होइन, नतिजा । वाचा होइन, विकास । अरु कुरा गर्छन्, कांग्रेस काम गर्छ
जय नेपाल !
डा. प्रकाश शरण महत प्रतिनिधि सभा सदस्य उम्मेदवार
नुवाकोट क्षेत्र नंः १










प्रतिक्रिया