Logo

Banner-news

लकडाउनविरुद्ध देशैभर विद्रोहको लहरः नेतृत्व लिन निजी क्षेत्रका संगठनमाथि दबाब


GDP Nepal
   २१ जेष्ठ २०७७, बुधबार


काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म लम्ब्याएको लकडाउनविरुद्ध देशैभर विद्रोह हुन थालेको छ । पूर्वको विराटनगरदेखि चितवन, सुर्खेत हुँदै सुदूरपश्चिमको धनगढीसम्मका व्यवसायीले लकडाउन अवज्ञा गर्दै बजार खोल्ने संस्थागत निर्णय गरिसकेका छन् ।

काठमाडौंको जोरपाटीमा स्थानीय व्यवसायीले लकडाउनको अवज्ञा सुरु गरिसकेका छन् । काठमाडौंकै अन्य क्षेत्रमा पनि व्यवसायीले पसल खोल्न सुरु गरिसकेका छन् भने बन्द गराउन हिँडेका प्रहरीमाथि व्यवसायीद्वार जुनसुकै बेला सामूहिक आक्रमणको त्रास बढेको छ ।

काठमाडौंमात्र नभइ कोरोनाप्रभावित केही क्षेत्रबाहेक देशैभर लकडाउनको अवज्ञा गर्नुपर्ने निष्कर्षमा निजी क्षेत्र पुगेको छ । तर, निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्समाथि विभिन्न जिल्लाबाट बजार खुलाउने अभियानको नेतृत्व गर्न दबाब सिर्जना भएको छ ।

महासंघ, परिसंघ र चेम्बरले मंगलबार कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा पनि यो कुरा राखेका थिए । अहिलेको स्थिति यी संगठनले समेत सम्हाल्न नसक्ने अवस्थामा पुगिसकेको देखिन्छ । जिल्ला तथा नगरबाट स्वस्फूर्त रुपमा उठेको यो अभियानलाई सम्बोधन गर्न सकेन भने निजी क्षेत्रको केन्द्रीय नेतृत्व पछिपछि र स्थानीय नेतृत्व अघि हुने सम्भावना प्रबल देखिन्छ ।

सरकारले कोरोनाभाइरस नियन्त्रणका नाउँमा अढाई महिनादेखि बजार बन्द गराएको छ । सरकारले कोरोनाप्रभावित निजी क्षेत्रलाई राहतसमेत दिन नसकेको, पुनर्कर्जाका नाउँमा सीमित व्यवसायीलाई मात्र फाइदा हुने कार्यक्रम नल्याएको तर कर तिर्न पाँच दिने अल्टिमेटम दिए पछि व्यवसायी झनै चिढिएका छन् ।

महासंघमाथि सरकारविरुद्ध आन्दोनलनको नेतृत्व लिन दबाब बढिरहे पनि पछिल्ला दिनमा आन्तरिक किचलोका कारण नेतृत्व लिन असमर्थ देखिएको छ । नेपाल उद्योग परिसंघले सरकारविरुद्ध सडकमा उत्रने आँट नगरे पनि यो अभियानको नेतृत्व नेपाल चेम्बर अफ कमर्सले लिने सम्भावना प्रबल देखिन्छ ।

चेम्बरले विगतदेखि नै यस्ताखाले जुझारु अभियानको नेतृत्व लिँदै आएको थियो । हाल देशैभर सञ्जालसमेत रहेको र राष्ट्रिय रुपमा पनि प्रभावकारी उपस्थिति रहेकाले बजार खुलाउने अभियानको नेतृत्व चेम्बरको काँधमा आएको निजी क्षेत्रभित्र विश्लेषण गर्न थालिएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह