Logo

Banner-news

प्रदेश बजेट र अर्थतन्त्रको समस्यामा कांग्रेसको चासो, विनोद चौधरीको अग्रसरता


GDP Nepal
   २२ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । नेपाली कांग्रेस, लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिले कोभिड–१९ कारण अर्थतन्त्रमा परेको असर र प्रदेशको आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटका उदेश्य र लिनु पर्ने प्राथमिकताका बारेमा एवं आगामी दिनमा देशको लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा लिइनुपर्ने नीतिका बारेमा सवै प्रदेशका माननीय सदस्यहरु र उद्योगी व्यवसायीहरुसँग छलफल गर्यो ।

छलफल कार्यक्रमको सुरु गर्दै विशेष समितिका संयोजक तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले यो विशेष समितिले कोभिड १९ का कारण समस्यामा परेको अर्थतन्त्रलाई पुनःउत्थानगर्न संघीय सरकार र प्रदेश सरकारले लिनुपर्ने नीति र आगामी आर्थिक वर्षको बजेटमार्फत् सम्बोधन गरिनुपर्ने विषयमा प्रकाश पारे । सोही उद्देश्यले प्रदेश सभाका सदस्यहरु र उद्योग व्यवसायसँग सम्ंबन्धित सबै पक्षसँग निरन्तर छलफल आयोजना गरिएको जानकारी दिए ।

चौधरीले कोभिड–१९ का कारण अबका दिन उद्यमी व्यवसायीका लागि सहज नहुने भन्दै त्यसको असर कमगर्न लागि हामी सबैको सामूहिक प्रयास जरुरी भएको बताए ।

कोभिड–१९ ले हाम्रो जीवनशैलीमा आउने परिवर्तन, व्यवसाय सञ्चालनमा हामीले सोच्नुपर्ने नविनतम उपायहरु र प्रमुख विपक्षीको रुपमा प्रदेशसभामा आफूहरुले खेल्नुपर्ने भूमिका बारेमा विस्तृत चर्चा गरेका थिए ।

कार्यक्रममा समितिका सहसंयोजक उमेश श्रेष्ठले अब पनि व्यवसाय निर्वाध सञ्चालन गर्न नसके अर्को वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुने बताए । संघीय वजेटले स्वास्थ्य, शिक्षा र कृषिलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न असफल हुँदा त्यसको असर प्रदेश बजेटमा पर्ने चिन्ता उनले प्रकट गरे ।

कार्यक्रममा विशेष समितिका सहसंयोजक पूर्वमन्त्री दीपक खड्काले यो समिातिले उद्योगीव्यवसायी र राजनैतिक नेताहरुवीच पुलको काम गर्ने बताए ।

विशेष समितिका सहसंयोजक वागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्र वानियाले आवतजावतको कठिनाईले व्यापारमा धेरै घाटा भएको र अब व्यवसायीहरु घाटा सहननसक्ने बताए ।

कार्यक्रममा समितिका सदस्यहरु अनिल रुंगटा, छत्र गिरी र खगेश्वर बोहोराले विभिन्न प्रदेशको कार्यक्रम संयोजन गर्दै सबैका विचारहरुमा टिप्पणी गरे ।

कार्यक्रममा संघीय सरकारको २०७७–७८ को नीति तथा कार्यक्रम, बजेट र आगामी दिनमा मौद्रिक नीतिमा उद्यमी व्यवसायीका चासोका बारेमा समितिका तर्फवाट सबैलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा सहभागीहरुले आफ्नो प्रदेशमा कोभिड १९ ले पारेको प्रभाव, प्रदेशको आगामी वर्षको बजेटले समेट्नुपर्ने विषय, प्रदेशको मुहार फेर्ने आयोजनाका बारेमा आफ्नो आफ्नो धारणा व्यक्त गरेको थिए ।

सवैजसो प्रदेशका सहभागीहरुले अबका दिनमा लामो लकडाउनका कारण कोभिड १९ का कारणले भन्दा अरु रोगले धेरैको ज्यान गएको, आत्महत्याको दर बढेको, सुत्केरी मृत्युदर भयावह भएको विचार राख्नुभएको थियो ।
यसैगरी, लकडाउन बढ्दै गएमा कोभिड १९ ले भन्दाभोकले धेरैको ज्यान जाने चिन्ता सहभागीहरुको थियो ।

प्रदेश १ का सहभागीहरुले उद्योग धन्दाबन्द रहेको, मेची र विराटनगर नाकाबाट निर्वाध नागरिकहरुको आगमन रहेकोले ठुलो जोखिम रहेको कुरा बताए ।

विराटनगर कोरीडोरमामात्रै ५ सय उद्योग बन्द हुँदा ९० हजारको रोजगारी जोखिममा रहेको तथ्यांक प्रस्तुत भएका थिए । अब विदेशबाट आउने युवाहरु श्रमिक नभई नेपालमा श्रम गर्न नचाहेर विदेश गएर मालिक बन्न चाहेका नेपाली भएको उल्लेख गर्दै उनीहरुको व्यवस्थापननिकै चुनौतीपूर्ण रहको सहभागीहरुको विचार थियो ।

प्रदेश १ को कार्यक्रममा उद्यमीहरु महेश जाजु, उदय चापागाईं, नरेन्द्र कुमार खड्का, सुबोध कोइराला, अविनास बोहोरा र वीरेन्द्र साहले भाग लिएको थिए ।

प्रदेश सभाका सदस्यहरु विन्दिया कार्की, केदार कार्की, ओमप्रकाश सरावगी, शेखर चन्द्र थापा, नवोदिता चौधरी, र राजिव कोइरालाले आफ्ना आफ्ना धारणा राखे ।

प्रदेश २ का सहभागीहरुले प्रदेशको भौतिक पूर्वाधार अत्यन्त नाजुक रहेको र सिमानाबाट हजारौंको संख्यामा नेपालीहरुको दैनिक प्रवेश भइरहेको बताए । तर उनीहरुको व्यवस्थापन गर्न नसकिएकोले पुरै प्रदेश आतंकित रहेको सहभागीहरुको भनाइ छ ।

देशमा सबैभन्दा धेरै उद्योग रहेको यो प्रदेशमा सबैभन्दा धेरै समस्या पनि यहीं रहेको उल्लेख गर्दै सहभागीहरुले अबको बजेटले यी समस्या समाधानका उपायहरुमा ध्यान दिने आशा व्यक्त गरे ।

प्रदेश २ को कार्यक्रममा कांग्रेस महासमिति सदस्य डा. सुभाषचन्द्र यादव, व्यवसायी अशोक वैद्यले आफ्नो आफना् धारणा व्यक्त गरे । प्रदेश सभाका सदस्यहरु शोभा लामा, वीरेन्द्र सिंह, शंकर चौधरी, सुरेन्द्र चौधरी, गीता यादव र राजेश्वर शाह र रामसरोज यादवले प्रदेश सरकारका वजेटका अब हुनुपर्ने प्राथमिकताका बारेमा प्रकाश पारे ।

वागमती प्रदेशका सहभागीहरुले काठमाडौं हेटौंडा सुरुङमार्गले यो प्रदेश र पूरै देशको मुहार परिवर्तन गर्ने बताउँदै अहिले कामदार र उद्योगलाई उत्पादन र वितरणसँग मात्रै जोडेर नपुग्ने बताए ।

साना व्यवसाय डुबे ठूला पनि चल्न नसक्ने हुँदा अबको दिन मागमा केन्द्रित हुने र त्यो कठिन हुने उनीहरुको विचार थियो । यो प्रदेशले आगमी वर्ष पूर्वाधारमा धेरै खर्च गर्नुपर्नेमा सहभागीहरुको एकमत थिए ।

वागमती प्रदेशको कार्यक्रममा व्यवसायीहरु लेखराज पोखरेल, अमिर राणा र निर्मला पण्डितले भाग लिए भने प्रदेश सभाका सदस्यहरु बिजुला वर्मा, छिरिङ दोर्जे लामा, प्रभात तामाङ, निमा लामा र राधा घलेले आफ्ना आफ्ना विचार प्रस्तुत गरे ।

कार्यक्रममा वागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र वानियाँले यो विशेष समितिले उद्यमी व्यापारी, प्रदेश सरकार र मजदुरका समस्या समाधानका लागि कार्य गर्ने बताए ।

गण्डकी प्रदेशको कार्यक्रमका सहभागीहरुले यो कोभिड १९ सत्ताधारी पार्टीहरुका लागि अबसर भएको तर उद्योग धन्दाका लागि अभिषाप भएको बताए । पर्यटन उद्योगको मेरुदण्ड यो प्रदेश कोभिड १९ का कारण त्रसित भएको सहभागीहरुको भनाई थियो ।

गण्डकी प्रदेशको कार्यक्रममा व्यवसायी आनन्दराज मुल्मीले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने प्रदेश सभाका सदस्यहरु प्रकाश दवाडी, मेखलाल श्रेष्ठ, ओमकला गौतम, विष्णु लामिछाने, मन कुमारी गुरुङ र कृष्णचन्द्र नेपालीले आफ्ना आफ्ना विचार मार्फत आगामी बजेट मार्फत सरकारले सम्बोधन गर्नुपर्ने विषयका बारेमा धारणा राखे ।

कार्यक्रममा समितिका सदस्य सूर्यवहादुर केसीले अबका दिनमा नेपाली श्रम बजारमा दक्ष श्रमिकको अभाव हुने हुँदा त्यसको प्रभाव उत्पादन र लागतमा पर्ने बताए ।

प्रदेश पाँचको कार्यक्रममा सहभागी हुँदै सहभागीहरुले यो प्रदेश देशको खाद्य भण्डार र वुद्धको जन्मभूमी भएकोले कृषि र पर्यटन यसको विकासका आधार भएको विचार व्यक्त गरे । अहिले कोभिड १९ को सबैभन्दा धेरै असर यही प्रदेशमा परेकोले त्यसको असर कम गर्ने नीति आगामी बजेटले लिनुपर्ने यो प्रदेशका सहभागीहरुको रह्यो ।

प्रदेशको कार्यक्रममा व्यवसायीहरु गोपाल अधिकारी, सतिस अग्रवाल र खुबरुद्धिन खाँले भाग लिएका थिए । प्रदेश सभाका सदस्यहरु अष्टभूजा पाठक, निर्मला क्षेत्री, वीरवहादुर राना, सुरेन्द्र हमाल र वीरेन्द्र कनौडियाले आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

कर्णाली प्रदेशको कार्यक्रमका सहभागीहरुले यातायातको समस्या नै कर्णालीको विकासको अवरोध भएकोमा एक स्वरले वर्णन गरे । महत्वपूर्ण जडिबुटीदेखि लिएर रारातालसम्मको यो क्षेत्रको वजेटले कनेक्टिभिटीमा ध्यान दिनुपर्ने सहभागीहरुको विचार रह्यो ।

यो प्रदेशको कार्यक्रममा व्यवसायी तथा समितिका सदस्य विष्णुबहादुर खड्का र व्यवसायी हर्षबहादुर खड्काले आफ्ना विचार प्रस्तुत गरेका थिए भने प्रदेश सभाका सदस्य जीवनबहादुर शाहीले विस्तृतमा प्रदेश विकासको खाका वर्णन गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको छलफल कार्यक्रमका सहभागीहरुले नेपाल भारत सीमावाट आएका नेपालीहरुको जाँच राम्रो नहुदा कोरोनाको स्थिति भयावह भएको बताए । पचास प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको यो प्रदेशमा कोभिड १९ का कारण यो संख्याअ झैं बढ्न जानाले अबका दिन रोजगारी केन्द्रित कार्यक्रम ल्याउनुको विकल्प नरहेको विचार व्यक्त गरे ।

सुदुर पश्चिमप्रदेशको कार्यक्रममा व्यवसायीहरु माधव भट्ट र कृष्णराज पाठकले आफ्ना धारणा राखेका थिए । प्रदेशसभाका सदस्यहरु अम्बिका थापा, गोविन्द बोहोरा, नन्दा बम, भरत खड्का र रणबहादुर रावलले कोभिडका कारण उत्पन्न समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा पर्शुराम नगरपालिकाका मेयर भीमवहादुर साउदले अहिलेको जटिल स्थितिको स्थलगत विवरण वर्णन गरेका थिए ।

विशेष समितिले कार्यक्रमको छलफलमा उठेका सबै विषयहरु समेटेर विस्तृत प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनले प्रदेशहरुले आगामी आर्थिक बर्षका लागि ल्याउन लागिएको बजेटमा सम्बन्धित प्रदेशका जनताका समस्या सम्बोधन गर्न मार्गनिर्देश गर्नेछ ।

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह