काठमाडौं । आम निर्वाचन २०८२ हुनुभन्दा पहिले धेरैको अनुमान थियो कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत ल्याउँछ ।
प्रत्यक्षतर्फ कांग्रेस, एमाले र नेकपाका उम्मेदवार समाजमा बढी चिनिएका र स्थापित भएका र रास्वपाका अधिकांश नयाँ भएकाले पुरानै पार्टीका उम्मेदवारले जित्छन् भन्ने आधारमा यस्तो विश्लेषण गरिएको थियो ।
समानुपातिकतर्फ रास्वपाले ६० लाख मत कटाउँछ भन्नेहरु प्रत्यक्षतर्फ सयभन्दा कम सिट ल्याउने आकलन गरिरहेका थिए ।
तर, नतिजा उल्टो आएको छ । समानुपातिकतर्फ रास्वपाले ५० लाख मत कटाए पनि प्रत्यक्षतर्फ १२५ सिट जितेको छ । यो समाचार तयार पार्दासम्म कूल १ करोड ५ लाख गणना भइसक्दा रास्वपाले ५० लाख ३६ हजार ८१० मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिए पनि समानुपातिकमा भने १७ लाख ६ हजार मत कटाएको छ ।

यसरी कांग्रेसको तुलनामा रास्वपा प्रत्यक्षतर्फ सात (६.९४) गुणा ठूलो पार्टी देखिए पनि समानुपातिक मतका आधारमा भने तीन गुणा ठूलोसमेत बन्न सकेको छैन ।
दलहरुको लोकप्रियताको मापन प्रत्यक्ष निर्वाचन नभै समानुपातिक मतका आधारमा गर्ने गरिन्छ ।
कूल प्रत्यक्ष सिटमा रास्वपाले ७५.७५ प्रतिशत सिट प्राप्त गर्दा कांग्रेसले भने १०.९० प्रतिशत सिट हासिल गरेको छ ।
यसअघि २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत समानुपातिकतर्फ प्राप्त गर्दा रास्वपाले ११ लाख ३१ हजार ३४४ मत पाएको थियो ।
कांग्रेसको मत १० लाखले घट्दा रास्वपाले भने ४० लाखभन्दा बढीले बढाएको छ ।
२०७९ मा नेकपा एमालेले सबैभन्दा बढी २८ लाख ४५ हजार ६४१ मत ल्याएको थियो । यसपटक एमालेले करिब १४ लाख मत गुमाएको छ ।










प्रतिक्रिया