Logo

Banner-news

नेपालमा लकडाउन चीनको वुहानभन्दा लामो, सरकार बन्यो कुहिरोको काग !


GDP Nepal
   २७ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन मंगलबार ७८ औं दिनमा छ । तर, संक्रमण रोकिने नभै फैलिने गतिमा छ ।

तर, कोरोनाभाइरसबाट हुने कोभिड–१९ रोगको उद्गमस्थल मानिएको चीनको वुहानमा ७६ दिनमा लकडाउन खोलिए पनि नेपालमा भने अझै लकडाउन खोल्ने कि नखोल्ने भन्नेमा बहस र विवाद जारी छ ।

विश्वव्यापीकरणको यो सुनौलो समयमा वुहानले कसरी कोरोना नियन्त्रणमा लियो र नेपालले त्यसबाट के सिक्नुपर्छ भन्ने चाहना हुने हो भने त्यो असम्भव छैन । नेपालस्थित चिनियाँ दूतावास र चीनस्थित नेपाली दूतावासले यसको सहजीकरण गर्न सक्थे र नेपालले त्यसबाट सिकेर त्योभन्दा पनि कम समयमै यहाँको व्यवस्थापन गर्न सक्दथ्यो ।

दुर्भाग्य यो छ कि चीनबाट सिक्ने नभइ चीनमा रहेका र तुलनात्मक रूपमा सक्षम र सवल मानिएका राजदूतलाई कुसमयमा फिर्ता बोलाएर रातारात पार्टी कार्यकर्तालाई पठाउनेमा सरकार उद्यत देखियो । लकडाउनमा जनतालाई घरभित्रै थुनेर सुकुम्वासी आयोग गठनजस्ता खर्च बढाउने र बेथितिका वाहक संयन्त्र बनाउनमा सरकारले समय खर्चियो ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएलगत्तै लगाइएको लकडाउनले संक्रमण रोक्न सकेन र अहिले ३७६३ जना संक्रमित तथा १४ जनाको मृत्यु भइसकेको अवस्था छ । कोरोना रोकथाम र नियन्त्रण गर्न लकडाउन उपयोगी बन्ने जनताको अपेक्षा तथा विश्वास सरकारकै अकर्मण्यताका कारण धूमिल भइसकेको छ र जनता स्वस्फूर्त लकडाउन उल्लंघन गर्ने अवस्थामा पुगेका छन् ।

सरकारले जनतालाई घरमै थुनेर राजनीतिक अभिष्टमात्र पूरा गर्ने खेलमा लागिरहेको जनताको बुझाई र सरकारको क्रियाकलाप पनि त्यस्तै सन्देहास्पद हुँदा लकडाउन नाममात्रको बनेको छ । पछिल्लो समय त लकडाउनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ र समाजका हरेक वर्गले यसको विरोध गर्दै आएका छन् ।

नेपालमा लकडाउन किन असफल भयो र अबका दिनमा हाम्रो रणनीति कस्तो हुनुपर्छ भन्नेमा गम्भीर विमर्श हुुनु आवश्यक छ । सरकार आफैं यसमा अग्रसर हुने देखिँदैन र यो संकट लम्ब्याएर राजनीतिक आर्थिक अभिष्ट पूरा गर्न उद्यत देखिन्छ । यसैले नागरिक समाजले यसका लागि सरकारलाई दबाब दिन आवश्यक छ । लकडाउनले आम मानिसको दैनिक जीवनमा अर्को असर गर्न थालिसकेको छ विगतमा हाम्रो प्रभावहीन लकडाउनका कारण पनि यसको फैलावट भएको देखिन्छ ।

लकडाउन सुरुमा लगाउने सरकारको निर्णय निकै सकारात्मक भए पनि लकडाउनको समयको उचित उपयोग गर्न सरकार चुकेको देखियो । विशेषगरी लकडाउनका बेला हामीले उपत्यकाबाट बाहिरिने र भित्रिने मानिसको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको जगजाहेर छ । भारतबाट आउने मानिसलाई समयमै भित्र्याएर उनीहरूलाई व्यवस्थित तरिकाले घर पठाउन सकेको भए यस्तो अवस्था नै आउने थिएन ।

नेपालमा स्रोतसाधन र जनशक्तिको अभाव पनि समस्या रह्यो र यसको व्यवस्थापनमा सरकार चुक्यो । अर्कोतर्फ परीक्षणको सुस्तताले पनि संक्रमण फैलिएको देखिन्छ । हाल देशभरमा १ लाख ७० हजारभन्दा बढी मानिस क्वारन्टीनमा रहे पनि यसको अनुपातमा उनीहरूको पीसीआर परीक्षण दर निकै कम छ ।
हालसम्म १ लाख मात्र पीसीआर परीक्षण हुन सकेको छ र यसमध्ये कतिपय अनावश्यक र पहुँचवालाले दुरूपयोग गरेको पाइन्छ । सरकारको कमजोर उपस्थितिले पनि फैलाएको देखिन्छ । लकडाउन गर्नुबाहेक सरकारले अन्य परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, मानिसहरूलाई आइसोलेसन र क्वारन्टीनमा राख्नेलगायतका काम गर्न नसक्दा लकडाउन प्रभावकारी हुन सकेन ।

वुहानले चालेका कदमबारे हालै भएको अध्ययनमा पनि सबैभन्दा प्रभावकारी मानिस मानिसबीचको भौतिक दूरी र मास्कको प्रयोग भएको देखिन्छ । नेपालले पनि यही विधि अनुशरण गर्नुको विकल्प छैन ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह