Logo

विकास / पूर्वाधार

ऊर्जा विकासका लागि १० वर्षमा २८ खर्ब लगानी आवश्यक


appharu
   २६ चैत्र २०७४, सोमबार


जीडीपी नेपाल
काठमाडौं, २५ चैत । सन् २०२८ सम्मका लागि विद्युत् उत्पादन, प्रशारण र वितरणका लागि २८ खर्ब आवश्यक रहेको औल्याइएको छ । माओवादी केन्द्रको जलस्रोत तथा ऊर्जा विभागले शुक्रबार नेपालको जलविद्युत्मा वित्तीय व्यवस्थापनको अवस्थाबारे आयोजना गरेको कार्यक्रममा जलविद्युत् क्षेत्रमा संलग्न सिभिल इन्जिनियर तारानाथ सापकोटाले यस्तो आवश्यकता औल्याएका हुन् ।

आगामी १० वर्षभित्र ६ हजार ५ सय मेगावाट विद्युत् आवश्यक रहेको र यसका लागि १३ खर्ब आवश्यक रहेको सापकोटाले कार्यक्रममा प्रस्तुत कार्यपत्रमा उल्लेख छ । कार्यपत्रका अनुसार, आगामी १० वर्षमा ४० हजार मेगावाट प्रशारण र वितरणका लागि लाइनहरू आवश्यक परेकोले प्रशारण लाइन र सबस्टेसनका लागि ७ खर्ब ४७ अर्ब ५१ करोड तथा वितरणका लागि ७ खर्ब ५० अर्ब रुपैयाँ आवश्यक छ । कार्यपत्रमा हाल नेपालका वित्तीय संस्था र अन्य निकायसँग २ खर्ब ६३ अर्बसम्म लगानी गर्नका लागि क्षमता रहेको र यसका लागि एकद्वार नीतिमार्फत जलविद्युत् विकास अघि बढाउन सकिने उल्लेख छ ।
छलफल कार्यक्रममा पूर्वऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा जलविद्युत् विकासका लागि नेपालीसँग लगानी रहेको उल्लेख गर्दै सस्ता आयोजना अन्य विदेशीलाई दिने र महंगा आयोजना नेपालीले बनाउने अवस्था रहेको बताए । उनले बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा बनाउन नसकिने उल्लेख गर्दै यस्तो महंगो आयोजनामा सर्वसाधारणले सेयर हाल्न नसक्ने दाबी गरे । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजनाको इक्वेटी जम्मा गर्न नेपालीले सक्ने बताउँदै उनले औद्योगिकरणले बिजुली माग बढ्ने र खेर जाने चिन्ता गर्नु बेकार रहेको बताए ।
पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले बिजुलीको उपयोग बत्तीका लागि मात्र नभई उद्योगमा पनि बढाउनुपर्ने बताए । पूर्वमन्त्री राजेन्द्र पाण्डेले सहकारीको पैसालाई जलविद्युत् विकासमा उपयोग गर्नुपर्ने बताए ।

प्रकाशित : २६ चैत्र २०७४, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह