म हरेक दिन ५ बजेभन्दा अगाडि कोठाबाट निस्किसकेको हुन्छु । अपवाद बाहेक । बागमतीको किनारै किनार केही समय हिँड्छु । एकाबिहानै सडक भरि कुदिरहेको भीडले मनमा झन् ऊर्जा थप्छ ।
६ बजेपछि त्यो भीड झनै धेरै हुन्छ भने ५ बजे त एकदम पातलो नै । बिहानीको हिँडाई सकिसकेपछि १–२ घन्टा म चिया पसलमा बिताउँछु । घरमा १ गाग्रो चिया पिए पनि हरेक दिन चिया पसलमा बसेर चियाको चुस्की नलाई धित नै मर्दैन । चियाको बहानामा चिया पसलमा बसेर गरिने गफ गजबकै हुन्छ ।
गत साउन २९ गते म चिया पसल अगाडि उभिरहेको थिएँ । एक्कासी अगाडि एक प्रहरीले एक जना ठेला व्यापारीलाइ समातेर राखिरहेको देखेँ । मेरो ध्यान त्यता केन्द्रित भयो । ठेलामा व्यापार गर्ने दाइ प्रहरीसँग दुई हात जोडेर छाडिदिन आग्रह गरिरहेका थिए भने प्रहरी फोन गरेर गिरफ्तारका लागि भ्यान बोलाउँदै थिए । त्यसको २–३ दिन अगाडि सरकारले कोरोनाको जोखिम बढेको भनेर साइकल , ठेला र फुटपाथमा हुने व्यसवायमा रोक लगाएको थियो ।
प्रहरीलाइ माथिको आदेश थियो । उनले आफ्नो कर्तव्य पालना गरिरहेका थिए । तर ठेला दाइको यतिधेरै हारगुहार थियो कि ,त्यो दृश्य साँच्चै कारुणिक थियो । भिडियो त मैले खिचिनँ । तर आफू बसेको स्थानबाट नै एउटा फोटोसम्म लिन भ्याएँ । त्यहाँ ठेलागाडा दाइको पक्षमा केही बोलम् भने व्यवसाय रोक्ने सरकारको नै आदेश थियो । उनी प्रहरीसँग एकपटकलाइ छोडिदिन याचना गर्दै त्यसपछि नआउने आग्रह गरिरहेका थिए ।
विचरा ऋण गरेर व्यापार गर्न केही समान किनेर ल्याएका थिए होलान् । त्यही सामान बेचेर साहुको पैसा तिर्ने र फाइदा आएको पैसाले परिवारको बेलुकाको छाक टार्नुपर्ने बाध्यता थियो होला । घरबेटी कोठा भाडाको लागि हरेक दिन किचकिच गरिरहेका पनि हुन सक्छन् । त्यसरी ठेलामा व्यवसाय गर्नु उनको रहर भन्दा पनि बाध्यता थियो भन्न सकिन्छ ।
त्यसको अर्को दिन म बेलुकीपख शंखमूलको सडकमा हिँडिरहेको थिएँ । त्यहाँ अहिले बिगमार्ट खुलेको रहेछ । सायद नयाँ शाखा हुनुपर्छ । केही महिना अगाडिसम्म त्यही बाटो हिँड्दा देखिएको थिएन वा ख्याल गरिएको थिएन । त्यहाँ पुग्दा मेरो नजर बिगमार्टतिर टक्क अडियो । प्रवेशद्वारमा रहेका दुई काउन्टरमा थेगिनसक्नुको भीड छ ।
सामाजिक दूरीको अलिकत्ति पनि पालना छैन । मानिसहरुले मास्क चिउँडोमा झुण्डाएका छन् । सामाजिक दूरी पालनाका लागि बाहिर गोलो घेरा बनाइए पनि त्यसको कुनै प्रयोग थिएन । आएजति मान्छेलाई एकैपटक भित्र प्रवेश गराइएको थियो । मान्छेहरु आफैँमा पनि फिटिक्कै सचेत थिएनन् ।
एकपटकमा भित्र कति मान्छे छिराउने कुनै मापदण्ड नै पालना भएको थिएन । त्यसको लागि सहजीकरण गर्ने कोही थिएन । सामान बेच्ने र पैसा लिने धुन मात्र थियो । त्यहाँ खुलेको बिग मार्ट अगाडिको सडकमा साँझपख फुटपाथ र ठेलागाडामा तरकारी र फलफूल बेच्नेको ठूलो भिड्न हुन्थ्यो पहिला । त्यो ठाउँमा पहिला म ३ वर्ष बस्दा साँझपख तरकारी किन्न जाने ठाउँ पनि त्यही नै हो र अहिले पनि त्यहाँ फुटपाथ व्यवसाय निरन्तर चलिरहेको नै थियो । तर, अहिले सरकारको आदेशले सडक सबै सुनसान थियो ।
फुटपाथ र ठेलामा तरकारी बेच्ने कोही थिएनन् । आउन खोज्नेलाई प्रहरीले लखेटिरहेको थियो र त्यसरी फुटपाथमा तरकारी किन्न आउने अधिकांश त्यही मार्टमा पसेको देखिन्थे । नजिकैको फुटपाथ व्यवसाय रोकिनुको फाइदा मार्टलाई थियो नै । जहाँ तरकारीदेखि हरेक चिज पाइन्थ्यो । त्यसरी गरिखाने वर्गलाई फुटपाथमा तरकारी बेच्न नदिएको सोझो फाइदा यस्ता धनीमानीहरुको मार्टलाई नै पुगेको रहेछ । जहाँ फेरि सामाजिक दूरी नचाहिने । प्रहरी नपुग्ने ।
हुन त फुटपाथ व्यवसाय गर्न पाइँदैन र निषेध गरिनु पर्छ भन्ने आवाज पनि उठिरहेको छ । तर विश्वको उदाहरण हेर्ने हो भने कतिपय विकसित देशमा नै नियमपूर्वक निश्चित समयमा फुटपाथ व्यवसाय चलिरहेको छ । अविकसित देशमा त त्यो धेरै नै छ । त्यसैले नेपालमा पनि फुटपाथ र ठेलागाडा व्यवसाय तत्काल रोक्न सकिने अवस्था छैन नै ।
जबसम्म उनीहरुलाई अरु रोजगार र विकल्पको सुनिश्चित हुँदैन । सरकारको यो रवैयाले गम्भीर प्रश्न चिह्न खडा भएको छ । आखिरमा यो लकडाउन, निषेधाज्ञाको नाममा कडाइ कसलाई ? दैनिक बिहान बेलुका काम गरेर छाक टार्ने मजदुरलाइ मात्र ?
एउटा सुपरमार्केटले स्यानीटाइजर , मास्क लगाएर र सामाजिक दूरी पालना गर्ने सर्तमा व्यसवाय सञ्चालन गर्न पाउँछन भने त्यही सर्त पालना गरेर फुटपाथ ठेलागाडाले गरिरहेको व्यवसाय चलाउन किन पाउँदैनन् ? यदि फुटपाथ त ठेलागाडामा बिहान बेलुका व्यापार गर्नेलाई कोरोना लागको हुन्छ भने ति सुपरमार्केटमा बस्ने र जानेलाई चाहिँ लागेको हुदैन भन्ने के ग्यारेन्टी छ ?
साइकलमा व्यापार गर्न भारतबाट आएकोले कोरोनाको जोखिम बढेको भन्ने पनि छ । त्यसको लागि उनीहरुलाई आउन नदिने, क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर जोखिम न्यूनीकरण गर्ने हो । सबैलाई एउटा टोकरीमा राखेर यसरी निमुखा मजदुरको गास निमोठ्ने हैन ।
यो महामारीबीच फुटपाथ र ठेलागाडाको व्यवसायमा पूर्णतः रोक लगाएर सरकारले बिहान बेलुका काम गरेर छाक टार्ने मजदुरमाथि ठुलो अन्याय गरेको छ । उनीहरु अहिले बन्द कोठाभित्र छटपटिएर बसेका छन्, त्यसैले फुटपाथ र ठेलागाडा व्यवसायमा पूर्णतः रोक लाउने सरकारको निर्णयमा यसमा पुनर्विचार आवश्यक छ ।
प्रतिक्रिया