Logo

बिजनेस होम

एनआरएनएको विज्ञ सम्मेलन सान फ्रान्सिस्कोमा


appharu
   ३० जेष्ठ २०७५, बुधबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी अक्टोबर १२ र १३ अर्थात् असोज २६ र २७ गते अमेरिकाको सान फ्रान्सिस्कोमा विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ ।

सम्मेलनमा विदेशमा आर्जित सीपको प्रयोग नेपालको रुपान्तरणको लागि उपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली विज्ञहरू, नेपाली विज्ञहरू र नेपालसँग जोडिएका विदेशी विज्ञहरू सहभागी हुने प्रवक्ता भुषण घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने संघको उद्देश्यअनुरुप सम्मेलनमार्फत अधिकतम उपयोग गरिने जनाइएको छ ।

संघको पहलमा नेपालमा आर्थिक लगानी भित्र्याउन केही सफलता हासिल भए पनि विदेशमा रहेका नेपालीहरूको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरूको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने निर्णय गरेको हो ।

 

सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही जुन १६ र १७ तारिखमा अमेरिकाको सान फ्रान्सिस्को हिरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको एनआरएनएले जनाएको छ । अमेरिकामा हुने विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्रमन्त्री डा. प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवतिप्रसाद भुसाल विशेष अतिथिका रुपमा सहभागि हुँदैछन् ।

 

सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा।बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा। हेमराज शर्मा आईसीसीका अन्य पदाधिकारीहरूलगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरूको उपस्थिति रहनेछ । अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरू र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा छ ।

अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलुकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिनेछ ।

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीको संयोजकत्वमा हुने सम्मेलनमा डा। रुद्र अर्यालले अमेरिका क्षेत्रका विज्ञहरूसँग संयोजन गरेका छन् भने एनआरएनए अमेरिकाका अध्यक्ष डा। केशव पौडेलको पनि विशेष भूमिका रहेको छ । सम्मेलनमा विशेषतः स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी, वातावरण तथा उर्जा, विज्ञान तथा प्रविधि, सुशासन लगायतका विषयलाई नीतिगत तथा विषयगत रुपमा प्रस्तुत गर्दै बृहत् छलफल गरिनेछ । त्यसपछि तयार हुने सनफ्रान्सिस्को घोषणापत्रका बुँदाहरूलाई नेपालको नीतिगत तहमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित हुनेछ ।

नेपालको आर्थिक विकासमा सहयोग गर्नको लागि गैरआवासीय नेपालीहरूले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरूमा लगानी गरिरहेका छन् । संघले सो सम्मेलनले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रुपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौद्धिक लगानीको बाटो खोल्ने जनाएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह