मस्को (बीबीसी): रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोपको प्रारम्भिक नतिजा सकारात्मक देखिएको छ । बीबीसीका अनुसार यो खोपले संक्रमितको प्रतिरक्षा प्रणाली विकास गरेको पाइएको छ भने यसबाट कुनै साइड इफेक्ट पनि देखिएको छैन ।
मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ ।
खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको रुस त्यसो गर्ने पहिलो देश हो । विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्नको उक्त परीक्षण निकै न्यून भएको बताएका छन्।
तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको जनाइएको छ । केही पश्चिमा विज्ञहरूले रुसले गरेको कामको तीव्र गतिलाई लिएर चिन्ता प्रकट गरेका छन् र अनुसन्धानकर्ताहरूले छिटो हुन सजिलो बाटो रोजेको हुनसक्ने उनीहरूको भनाइ छ ।
गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमा पनि परीक्षण गरिएको थियो । स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख छ ।
बीबीसीका अनुसार प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वस्थ स्वयम्सेवकलाई पहिलो खोपको लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो । सहभागीको उमेर १८ देखि ६० वर्षसम्म थियो। उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एन्टीबडीको विकास भएको थियो ।
यद्यपि, संक्रमण रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक लाभको तुलना सहितको ठूलो दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक रहेको बताइएको छ ।
विज्ञहरूले खोप बजारमा उपलब्ध गराउनका निम्ति अझैँ पनि लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको बताएका छन् ।
प्रतिक्रिया