Logo

Banner-news

महासंघ निर्वाचन धकेलिँदा गोल्छाको कार्यकाल छोट्टिँदै, राणाको कीर्तिमान


GDP Nepal
   ४ आश्विन २०७७, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति एकपछि अर्को गरी पछाडि धकेलिँदै जाँदा नयाँ कार्यसमितिको कार्यकाल भने छोटिँदै गएको छ । अर्को कार्यकालका लागि गत चैतमै अध्यक्ष हुनुपर्ने शेखर गोल्छाले अझै जिम्मेवारी सम्हाल्न पाएका छैनन् भने उनको कार्यकाल चैतबाटै गणना हुने भएकाले पूरा कार्यकाल अध्यक्ष बन्न नपाउने भएका छन् ।

महासंघको विधानअनुसार चैत अन्तिम साता साधारणसभा गरी सोही मितिबाटै कार्यकाल गणना हुनेछ । १२ वर्षअघि महासंघको विधान संशोधन गरी अध्यक्ष र कार्यकारिणी समितिको पदावधि तीन वर्ष बनाइएको थियो ।

महासंघको इतिहासमा अध्यक्षको तीन वर्षे कार्यकाल पूरा गर्न नसक्ने अध्यक्षमा प्रदीपजंग पाण्डे, पशुपति मुरारकारपछि शेखर गोल्छा नै हुने भएका छन् भने वर्तमान अध्यक्ष भवानी राणाले सबैभन्दा लामो समय अध्यक्ष हुने सौभाग्य पाएकी छन् ।

राणाले महासंघको पछिल्लो ३० वर्षमा सबैभन्दा लामो समय अध्यक्षको जिम्मेवारी सम्हालेकी छन् । पूर्वअध्यक्ष महेशलाल प्रधानपछि कुनै पनि अध्यक्ष दुई कार्यकालका लागि निर्वाचित भएका छैनन् ।

तत्कालीन अध्यक्ष चण्डीराज ढकालले दोस्रो कार्यकालका लागि दावी गरे पनि उनी कुशकुमार जोशीसँग निर्वाचनमा पराजीत भएका थिए । उनकै कार्यकालमा विधान संशोधन गरी कार्यकारिणी समितिको पदावधि तीन वर्ष बनाइएको थियो ।
मंसिरको पहिलो साता साधारणसभा र निर्वाचन गरी नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने सहमति बने पनि निर्वाचन हुने आधार अझै सुनिश्चित नभइसकेको बताइन्छ ।

महासंघ पदाधिकारी समितिको शुक्रबार राजधानीमा बसेको बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने सहमति गरेको हो । पदाधिकारी समितिको यो निर्णय कार्यकारिणी समितिको पूर्ण बैठकमा पेश गरिने र समितिले अनुमोदन गरेमात्र कार्यान्वनमा आउने भएको छ । यद्यपि दुवै पक्ष सहमत भएकाले कार्यकारिणी समितिले अनुमोदन गर्ने सम्भावना रहेको छ ।

नियमित कार्यतालिकाअनुसार चैत २८ र २९ गते काठमाडौंमा हुनुपर्ने साधारणसभा कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण स्थगित भएको थियो । त्यसयता जेठ र साउनमा साधारणसभा गर्ने मिति तय भए पनि निर्धारित समयअगावै स्थागित गरिँदै आएको थियो ।

साधारणसभाको मोडालिटी तय गर्न कार्यकारिणी समितिका ६ जना सदस्य रहेको समितिले दिएको सुझावपछि बसेको पदाधिकारी बैठकले नयाँ मिति प्रस्ताव गरेको हो । शुक्रबार बसेको पदाधिकारी बैठकले नेपालीका मुख्य चाडपर्व सकिएपछि काठमाडौंमै साधारणसभा गर्न उपयुक्त हुने ठानेर मंसिर ११ र १२ का लागि मिति तय गरिएको हो ।

महासंघ कार्यकारिणी समितिको बैठक अर्को साता बस्नेछ । पदाधिकारी बैठकमा असोज ११ वा १२ गते कार्यकारिणी समिति बैठक राख्ने विषयमा छलफल भएको छ । समितिको सुझावअनुसार महासंघ साधारणसभाको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने विषयमा दुवै पक्ष सहमत भए पनि निर्वाचनको मोडालिटीबारे टुंगो लागेको छैन ।

समितिले बस्तुगत, जिल्लानगर तथा एशोसिएट समूहको छुट्टाछुट्टै स्थानमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको थियो । जिल्लानगरको निर्वाचन काठमाडौंमा सम्भव नभए प्रदेशस्तरमा गर्ने र मतगणना काठमाडौंमा गर्नसकिने सुझाव रहे पनि यसमा भने जिल्लानगरका प्रतिनिधिले असहमति जनाउँदै आएका छन् ।

महासंघ निर्वाचनका लागि उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले आफ्नो टिम यसअघि नै घोषणा गरिसकेका छन् । पछिल्लोपटक निर्वाचन स्थगित भए पनि उम्मेदवारहरुले भेटघाट तथा सम्पर्कलाई भने जारी नै राखेका छन् ।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह