Logo

बिजनेस होम

चीनले नपत्याएको हिमालय एयरलाइन्सप्रति प्रधानमन्त्रीको यस्तोविधि मोह किन ?


appharu
   ४ असार २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोली (मंगलबार)देखि हुन लागेको चीन भ्रमणमा हिमालय एयरलाइन्सको जहाज प्रयोग हुँदैछ ।


‘राष्ट्रवादी’ छवि बनाएका ओलीले नेपाल सरकारकै स्वामित्व रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज प्रयोग नगरी किन चिनियाँ लगानीको ‘विवादास्पद’ कम्पनीको जहाज प्रयोग गर्दैछन् भन्ने प्रश्नले राजनीतिक तथा आर्थिक क्षेत्र तातेको छ ।

संयोगवश, प्रधानमन्त्रीका रुपमा ओलीको यो दोस्रो चीन भ्रमण हो भने हिमालय एयरलाइन्सको पनि यो दोस्रो चीन उडान हो । चिनियाँ लगानी रहेको र नेपाली उड्डयन क्षेत्रलाई आफ्नो मुठ्ठीमा राख्न सफल यति एयरलाइन्सका सञ्चालक आङ छिरिङ शेर्पा साझेदार रहेको यो एयरलाइन्समा प्रधानमन्त्री ओली चीन जानु आफैंमा अर्थपूर्ण छ ।

ओलीले राष्ट्रिय ध्वजाबाहकलाई भन्दा बढी पत्याएको हिमालय एयरलाइन्सलाई चीनले नै भने पत्याएको छैन । पहिलो उडान नै चीनबाट सुरु गर्नेगरी जहाज भाडामा ल्याएको हिमालय एयरलाइन्सलाई चीनले अझै उडान अनुमति दिएको छैन ।
त्यसो त नेपालको ‘मित्रराष्ट्र’ चीनले नेपालका कुनै पनि जहाजलाई चीन उडानको अनुमति नदिएर आफ्ना भने आधा दर्जन जहाजमार्फत नेपालमा एकलौटी व्यवसाय गरिरहेको छ ।

प्रधानमन्त्रीले सर्वत्र विरोध हुँदाहुँदै पनि चीन जाँदा हिमालय एयरलाइन्सकै जहाज प्रयोग गर्नुको उद्देश्य भने हिमालय एयरलाइन्सलाई चीन उडानका लागि दीर्घकालिन बाटो खोलिदिनु नै हो भन्नेमा सन्देह छैन ।

तर, प्रधानमन्त्री ओलीले नेपाल वायुसेवा निगमसमेत चीन जान नपाएको अवस्थामा हिमालय एयरलाइन्सकै ब्रान्ड एम्बेसडर बनेर उसकै लागि यसरी लबिङ गर्नुले भने उनको राष्ट्रवादी छवि खुइल्याउने निश्चित छ ।

आङछिरिङ शेर्पाले उपलब्ध गराएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा तत्कालीन एमाले र हाल नेकपाको मुख्य कार्यालय छ । उनको एमाले नेतासँगको उठबस र उनले भनेअनुसार काम नगर्दा २ वर्षमा ४ पटक एमालेले पर्यटनमन्त्री फेरेको जीवित इतिहास सम्झने हो भने भोलिका दिनमा सरकारी सम्पत्तिमाथि उनकै रजगज चल्ने निश्चित छ ।

प्रकाशित : ४ असार २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह