काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर तीव्र गतिमा बढिरहँदा नेपालीहरुको महत्वपूर्ण चाड दसैं सम्पन्न हुने चरणमा छ । सरकारको नियन्त्रण र प्रतिबन्धका बीच आम सर्वसाधारणले दसैं खुलेरै मनाएको सामाजिक सञ्जालका पोष्ट तथा सडकको गतिविधिबाट देख्न सकिन्छ ।
तर, दसैंले कोरोनाको जोखिम झनै बढाएको भन्दै जनस्वास्थ्यविद् तथा सरोकारवालाहरु भने चिन्तित छन् । काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बनिरहे पनि यहाँका स्थानीयले खुलेरै दसैं मनाएकाले यसको असर आगामी केही दिनमा देखिने र यसबाट ज्येष्ठ नागरिकमा जोखिम बढेको उनीहरुको भनाइ छ ।
सरकारले जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन अनुरोध गरे पनि काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिनेको संख्या विगतको तुलनामा कम रहे पनि अपेक्षाभन्दा बढी नै रह्यो । दशैंमा टीका लगाउनेले सामाजिक दूरी र सुरक्षात्मक उपाय अवलम्बन कम गरेको पाइयो भने टीकाअघि राजधानीका मासु पसलमा देखिएका भीडले पनि संक्रमणको जोखिम बढाएको छ ।
पछिल्ला दुई दिन कोरोना संक्रमण दर र मृत्यु घटेको पाइए पनि यसले जोखिम टरिसकेको भन्न नसकिने अवस्था छ । परीक्षण दरमा केही कमी आएको र लक्षण देखिएकाहरु समेत परीक्षणमा नगएका कारण यस्तो अवस्था आएको अनुमान गरिएको छ ।
सोमबार अपरह्नसम्म पछिल्लो २४ घण्टामा १ हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा कोभिड १९ कारण १५ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। यससँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको कुल सङ्ख्या ८६२ पुगेको छ।
सामान्यतया १२ हजारभन्दा परीक्षण हुने गरे पनि सो २४ घण्टामा जम्म ५ हजार ६ वटामात्र पीसीआर परीक्षण गरिएको थियो। यससँगै सोमबारसम्म कुल एक लाख ५९ हजार ८३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
त्यसो त जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने जनस्वास्थ्यविदहरुको टिप्पणी छ । जनस्वास्थ्यविद् डा. अनूप सुवेदीका अनुमानमा आउँदा केही दिनमा दैनिक आठ दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्छन् । नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको भन्दै उनी यही लहर नै घातक हुन सक्ने बताउँछन्।
आमनागरिकले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्डको पालना गरेर सरकारले परीक्षण र कन्ट्याक्ट ट्रेसिङ्ग बढाउन सके नियन्त्रणमा आउने भए पनि त्यो सम्भावना कम छ ।
गत २४ घण्टामा चार हजार पाँचजना निको भएसँगै नेपालमा हालसम्म एक लाख १५ हजार ६७५ जना कोरोनाभाइरस भएर निको भएका छन्। निको हुने दर ७२.४ प्रतिशत छ।
यसरी हुनुहोस् सुरक्षित
दसैंमा सम्भावित संक्रमितले आफूले भेट गरेका सबै आफन्त तथा इष्टमित्रको कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सम्भव देखिएकाले सर्वसाधारणको सहयोग भए यसको फैलावट रोक्न असम्भव पनि छैन ।
यसैले सामान्य संकेत देखिएकाहरुले पनि पीसीआर परीक्षण गरेर केही दिन आइसोलेसनमा रहने तथा सम्पर्कमा रहेका ज्येष्ठ नागरिकको समेत समयमै परीक्षण र उपचार गर्न सके संक्रमणसँगै मृत्यदर घटाउन सकिन्छ ।
ज्येष्ठ नागरिकसँगै दीर्घरोगी तथा अन्य जोखिम समूहमा रहेकाहरुको परीक्षण आवश्यक छ । यसरी आफूसँगै समाजलाई सुरक्षित गर्ने तथा मास्क, स्यानीटाइजर र सामाजिक दूरीमा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया