Logo

अर्थनीति

महासंघ अध्यक्ष भवानी राणाको फर्चुना इन्भेष्टमेन्ट कम्पनीले चीनबाट ५ अर्ब ४ करोड भित्र्याउने


appharu
   ६ असार २०७५, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा रहेको फर्चुना इन्भेस्टमेन्ट प्रालिले चीनबाट ५ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी ल्याउने भएको छ ।

अध्यक्ष राणासहित महासंघका कार्यकारिणी समिति सदस्यहरु भरत आचार्य र प्रबलजंग पाण्डे सेयरहोल्डर रहेको उक्त कम्पनीले चीनको क्वोन्चौ मेरिटाइम सिल्करोड इन्टरनेसनल इन्भेष्टमेन्ट कर्पोरेसनमार्फत यो लगानी ल्याउने भएको हो । प्रधानकेपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुवै कम्पनीबीच भएको लगानी समझदारीपत्रमा अध्यक्ष राणा र क्वोन्चौ मेरिटाइमका प्रमुख कार्यकारी अधिकृत झाङ झाउले हस्ताक्षर गरेका छन् ।


सझौताअनुसार फर्चुनाले उक्त कम्पनीबाट ४६ मिलियन डलर अर्थात नेपालको आजको डलर सटही दरअनुसार ५ अर्ब ४ करोड रुपैयाँ लगानी ल्याउनेछ । सम्झौताअनुसार सो पुँजी नेपालको कृषि, पर्यटन, पूर्वाधार र वैदेशिक व्यापारमा लगानी गरिने छ ।

नेपालको उच्च पहाडी भूभागमा कृषिजन्य वस्तु उत्पादन, प्रशोधन तथा प्रविधिका माध्यमले गुणस्तरीय उत्पादन र प्रशोधन गरेर चीनतर्फ नै निकासी गरिनेछ । कम्पनीका निर्देशक पाण्डेका अनुसार यो लगानीले नेपाल र चीनबीच व्यावसायिकस्तरमा समेत सम्बन्ध विस्तार हुनेछ भने पर्यटन क्षेत्रको विकास र विस्तारसँगै होटल तथा रिसोर्ट सञ्चालनका लागि पनि सो लगानी प्रयोगमा ल्याइनेछ ।

 

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

राससका अनुसार प्रधानमन्त्री ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ ।

बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरे ।

परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ । यस्तै, पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी सहयोगसम्बन्धी द्वीपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस्तै, १ सय ६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

४०.२७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या बीच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित : ६ असार २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह