Logo

Banner-news

सेयर बजारको उछालले अर्थमन्त्रीको कार्यकाल कोशेढुंगाः निजी क्षेत्र


GDP Nepal
   १६ मंसिर २०७७, मंगलबार


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेयता सेयर बजारमा उछाल आएको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सेयर बजारलाई निजी क्षेत्रले भने अर्थमन्त्री पौडेलको सफलताको सूचक मानेको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले सोमबार अर्थमन्त्री पौडेललाई भेट गरी सेयर बजारको बढोत्तरीले अर्थमन्त्रीको कार्यकाल कोशेढुंगा हुने विश्वास व्यक्त गरेको हो ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने– सेयर बजारमा आएको उत्साहजनक अवस्थाले सबैमा खुशी छाएको छ, यसैले अर्थमन्त्रीको कार्यकाल कोशेढुंगा सावित हुने निजी क्षेत्रको विश्वास छ ।

मन्त्री पौडेलले पनि निजी क्षेत्रको प्रशंशाबाट उत्साहित हुँदै सरकारले निजी क्षेत्रको मनोबल र आत्मबल उच्च राखी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अगाडी बढ्ने बताए ।

पौडेलले निजी क्षेत्रको जायज मागलाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै निरन्तर रुपमा समस्यामा केन्द्रित भएर निजी क्षेत्रसँगको संवाद र छलफललाई निरन्तरता दिने बताए । निजी क्षेत्रलाई समावेश गराई प्राप्त प्रतिक्रियालाई दोहोरो संवादबाट सही र सार्थक निर्णय लिने उनको भनाइ छ ।

निजी क्षेत्रले भोगेको समस्याहरु गम्भिर हुन सक्छ त्यस्ता समस्याहरुलाई सकारको कार्यसम्पादन चुस्त राखी कुनै पनि समस्याहरु कानुन संशोधनसँग सम्बन्धित भएमा, नियम निर्देशिकासँग सम्बन्धित भएमा छलफलबाट प्राप्त सुझावको आधारमा आवश्यक संशोधनगर्दै अगाडी बढ्ने उनले प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले हेजिङ नियमावली हाल मन्त्रिपरिषदमा छलफलको लागि रहेकोले नियमावली आउनुपूर्व निजी क्षेत्रसँग छलफल गरेरमात्र आउने विश्वास दिलाए ।

अर्थमन्त्री पौडेलले वर्तमान राजनीतिक परिवेशको सन्दर्भ जोड्दै मुलुकमा राजनैतिक स्थायित्व छ र निरन्तर रहनेमा विश्वस्त रहन निजी क्षेत्रलाई आग्रह गरे ।

कोभिडबाट सिर्जना भएका समस्या सम्बोधन गर्नको लागि सरकारले गरेका प्रयासहरु माथि पुर्निवचार गर्नु पर्ने भएमा सरकारको स्रोत र साधनलाई मध्यनजर गरी पुनर्विचार गर्न सकिने बताए ।

छलफलमा परिसंघ अध्यक्ष मोरले बजेटमा सम्बोधन भएका व्यवस्थाहरुलाई तुरुन्त कार्यान्वगन गर्नुपर्ने माग गरे । ठूला उद्योगहरुको लागि पुनरकर्जामा भएको २० करोडको व्यवस्था अपूग भएकोले पूँजीको आधारमा २० प्रतिशतसम्म पुनरकर्जा पाउनु पर्ने उनको माग छ ।

मेक इन नेपालको परिकल्पना अगाडी सार्दै स्वदेशीउत्पादनलाई प्रवद्र्धन गर्नु पर्ने र त्यसमा गौरव गर्ने गरी निजीक्षेत्र अगाडी बढ्न इच्छुक भएकोले सरकारले आवश्यक वातावरण तयार गर्नुपर्ने बताए ।

अध्यक्ष मोरले हाल भएको ग्लोवल टेण्डरको सिमा १०० करोडभन्दा माथि भएकोमा त्यसलाई ३०० करोडभन्दा माथि बनाउनु पर्ने, रुग्ण उद्योगको सम्बन्धमा अध्ययन गरी के कारणले उद्योगहरु रुग्ण भएका छन् त्यसको कारण पत्ता लगाई रुग्ण उद्योग भएमा उद्योगीले सहज रुपमा बहिर्गमन हुने वातावरणको सृजना गर्नु पर्ने माग राखे ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विभिन्न ऐनहरुले व्यवसायीहरुलाई हतोत्साही बनाउँदै आएकोले कालोबजारी ऐनलाई समय सान्दिर्भिक बनाउन माग गरे । बिनाकसुर व्यवसायीहरुको मानमर्दन हुने कार्य दोहोरीइरहेकोले व्यवसायीहरुलाई उद्यमशीलता विकास गर्न, रोजगारी सृजना गर्नको लागि प्रोत्साहन गर्नु पर्ने र धेरै रोजगारी सृजना गर्ने उद्योगलाई विशेष व्यवस्था गर्नु पर्ने धारणा राखे ।

छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले कुनै पनि ऋणको पुनरसंरचना गर्नको लागि ऋणी र बैकबीच भएको सहमतिअनुसार अगाडि बढ्न सकिने व्यवस्था गर्नुपर्ने बताउँदै हेजिङको कारण वैदेशिक लगानी रोकिन सक्ने धारणा राखे ।

हाल सीमित क्षेत्रको मात्र धितोपत्रमा सूचीकृत भएकोमा प्राय सबै क्षेत्रलाई सुचिकृत गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । हालसम्म धितोपत्र बोर्डमा नेपाल उद्योग परिसंघको प्रतिनिधित्व नभएकोले परिसंघको प्रतिनिधित्व गराउन माग राखे ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र विरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह