Logo

विकास / पूर्वाधार

रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण


GDP नेपाल
   ९ भाद्र २०७८, बुधबार


बेनी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण गरिएको छ । कुइनेमङ्गलेको घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्क हुँदै रिखार जाने पदमार्गमा रहेका छहरेखोला र बगरखोलामा अस्थायी काठे साँघुलाई विस्थापित गरी झोलुङ्गेपुल निर्माण गरिएको हो ।

पात्लेखर्कदेखि रिखार जाने पदमार्गमा पर्ने बगरखोलामा रु ४६ लाख ७१ हजार लागतमा ७१ मिटर लामो झोलुङ्गेपुल निर्माण भएको छ । नेपाल सरकारले उपलब्ध गराएको ससर्त बजेटबाट गाउँपालिको सञ्चालन गरेको यस योजनमा उपभोक्ताले रु ९३ हजार बराबरको श्रमदान गरेका छन् । यस खोलामा हरेक वर्ष वारपारका लागि काठे साँघु बनाउने गरिएको थियो ।

जनैपूर्णिमा पर्वका अवसरमा विशेष पूजा हुने रिखार जाने भक्तजनको सुविधाका लागि हरेक वर्ष अस्थायी साँघु बनाउँदा करिब ३० हजारको हाराहारीमा खर्च हुँदै आएकामा झोलुङ्गेपुल निर्माण भएपछि साँघु बनाउनुपर्ने झन्झट हटेको र आर्थिक व्ययभारसमेत हटेको रिखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो ।

त्यसैगरी छहरेखोलामा रु ४२ लाख ६९ हजार लागतमा ७४ मिटर लामो झोलुङ्गेपुल निर्माण भएको छ । नेपाल सरकारको सशर्त अनुदानबाट गाउँपालिकाले सञ्चालन गरेको यस योजनामा उपभोक्ताले ८५ हजार बराबरको श्रमदान गरेका छन् । यो पुल निर्माणपछि घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्कका स्थानीयवासीलाई वारपार र आवतजावतका लागि सहज भएको छ भने रिखार जाने भक्तजन र पर्यटकहरुलाई समेत सुविधा पुगेको छ ।

दुवै पुल निर्माणमा गैरसरकारी संस्था मिलन म्याग्दीले प्राविधिक सहजीकरण गरेको थियो । दुवै झोलुङ्गेपुलको एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले उद्घाटन गर्नुभएको छ ।

प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह