काठमाडौ ।
नेपाल उद्योग परिसंघले विदेशी पर्यटकलाई अनअराइभल भिसा प्रदान गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएको छ । एक विज्ञप्ति जारी गर्दे परिसंघले सरकारको यो निर्णयले कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरोत्थानका लागि सकारात्मक पहल हुने जनाएको छ ।
कोभिड १९ का कारण केही समय बन्द भएको अनअराइभल भिसा पुनः सुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटन आवागमनमा वृद्धि भइ पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने परिसंघको ठहर छ ।
अनअराइभल भिजा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सहजरूपमा अघि बढाउनमा पनि सरकारले समन्वय गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।
त्यस्तै, सरकारलाई अझै पनि ‘रेड लिस्ट’मा रहेका केही देशहरुलाई उक्त लिस्टबाट हटाउन माग गर्दै परिसंघले भनेको छ ‘नेपाल सरकारले कुटनीतिक पहलमार्फत सम्पूर्ण देशहरुलाई नेपाललाई रेड लिस्टबाट हटाउन पहल गर्नुपर्छ,’ परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भन्नुभयो, ‘अब देशभित्र सम्पूर्ण नागरिकलाई शीघ्र खोप उपलब्ध गराउने र विदेशी नागरिकलाई नेपाल सुरक्षित रूपमा घुम्न सकिन्छ भन्ने सन्देश दिनुपर्छ ।’
अनअराइभल भिसा खोलेसँगै सरकारले पर्यटकका लागि केही शर्त अघि सारेको छ । शर्त अनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दूमा एन्टिजेन परीक्षण गर्नुपर्ने, एन्टिजेन पोजिटिभ देखिए पर्यटकहरु आइसोलेसनमा बस्नुपर्नेछ भने नेगेटिभ आएमा आफ्नो गन्तव्य प्रस्थान गर्न सक्नेछन् । परिसंघले कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा प्राप्त गरेका सबै नागरिकलाई सहज रूपमा नेपाल भ्रमणको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेसँगै असोज ६ गते बसेको मन्त्रिपरिषदको बैठकले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८’ स्वीकृत गरेको थियो ।
प्रतिक्रिया