Logo

सेयर बजार

अपर तामाकोसीको सेयर आजदेखिः तीन रङका फारम, ३० कित्ता निश्चित


appharu
   १६ श्रावण २०७५, बुधबार


काठमाडौं । स्वदेशी लगानीको राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा हुनै लाग्दा सेयर वितरण प्रक्रिया पनि सुरु भएको छ ।

आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका वासिन्दाबाट २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयरका लागि आजदेखि आवेदन संकलन गर्दैछ ।

ऊर्जामन्त्री वर्षमान पुनले स्थानीयलाई सेयर आवेदनपत्र वितरण गरी यसको विधिवत सुरु गर्ने योजना छ । आवेदकले भदौ १४ गतेभित्र विवरणपत्र भरेर बुझाउनुपर्नेछ ।

सेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले ३ किसिमका फाराम संकलन केन्द्रमा पठाएको छ । क वर्गका लागि हरियो, ख वर्गका लागि निलो र ग वर्गका लागि सेतो फाराम तयार गरेको छ । स्थानीय सेयर जिल्लाको साविक लामावगर र गौरीशंकर गाविसलाई क वर्ग कायम गरिएको छ ।

साविक ओराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पा–क्षमावती, नाम्दु, गैरीमुदी, भीरकोट, जफे, मालु, सहरे र भीमेश्वर नगरपालिकाको साविक वडा नम्वर १, २, ३, ४ र ७ लाई ‘ख’ वर्ग तोकिएको छ । भीमेश्वर नगरपालिकाको साविक ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्वर वडा र जिरी नगरपालिका सहित जिल्लाका बाँकी सबै गाविस ‘ग’ वर्गमा परेका छन् ।

माथिल्लो तामाकोसी आयोजनामा यही साउन १६ गतेदेखि दोलखावासीका लागि सेयर आवेदन खुला हुँदैछ । दोलखावासीका लागि कुल १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन भएको छ । माथिल्लो तामाकोसी आयोजनामा सबै दोलखावासीले न्यूनतम ३० देखि ३ सय कित्तासम्म सेयर हाल्न पाउनेछन् ।

दोलखावासीलाई १० प्रतिशतले हुनआउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर भएको छ । धितोपत्र बोर्डले गत जेठ ३ गते आइपीओ निष्कासनका लागि अनुमति दिएको थियो । स्थानीयबाट तोकिएको सेयरमा पनि आवेदन नपुगेमा बाँकी सेयर समेत थप गरेर सर्वसाधारणलाई विक्री गर्ने कम्पनीको योजना छ ।

सेयर संकलनका लागि दोलखामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य कार्यालय गोंगरसहित चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, किर्ने, गुरुम्फी, मेलुङ र बाघखोरमा २१ वटा बैंक शाखा केन्द्र रहेका छन् । सेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले दोलखाका जनप्रतिनिधिहरूलाई सेयरबारे एक दिने प्रशिक्षण पनि बुधबार आयोजना गरेको छ । सोही कार्यक्रममा केही ठाउँमा घुम्ती संकलन केन्द्रको बारेमा पनि छलफल हुने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

दोलखावासीमध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालिका र विवाह भइ आएका महिलाले विवाहदर्ता प्रमाण पत्रका आधारमा सेयर पाउँछन् । अन्यको हकमा दोलखा जिल्लावासी भएको नागरिकता प्रमाणपत्र अनिवार्य चाहिन्छ ।
तर, जिल्ला बाहिर बिहे गरेर गएका चेलीहरूले पनि सेयर पाउनबाट वञ्चित हुने सेयर दिने प्रयोजनका लासि जिविस दोलखाले ३ वर्ष अघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ ।

जिल्लाविकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौता मिति २०६४ माघ १५ गतेभित्र बसाई सरी दोलखा आएकोहरूले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।

जिल्लावासीको बढीभन्दा बढी सहभागिता गराउनका लागि अपर तामाकोसीका लागि दोलखावासीले लगानी गर्नका लागि डिम्याट खाता ऐच्छिक हुने भएको छ । त्यसैगरी सेयर नपरेको रकम फिर्ता लिन परिवारको एक जनाको बैंक खाता प्रयोग गर्न सक्ने सुविधा दिएको छ ।
आयोजना प्रभावित(दोलखावासी)ले बुधबारदेखि तोकिएको संकलन केन्द्रहरूबाट सेयर भर्न पाउनेछन् ।

दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ । आयोजनाको प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह