Logo

विकास / पूर्वाधार

दाजुङखोला लघुजलविद्युत् बन्द हुँदा ४ सय घरधुरी अन्धकारमा


GDP नेपाल
   १८ आश्विन २०७८, सोमबार


म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन् ।

च्युरीबोटस्थित विद्युत् गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी आएपछि यही असोज १४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर घर्तीले बताउनुभयो । सो परियोजनाको विद्युत् च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३९३ घरधुरीले उपभोग गरेका थिए । विद्युत् अभावमा उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने अवस्था आएको छ ।

सर्वसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा विद्युत्बाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ । सहकारीका अध्यक्ष घर्तीले बुटवलबाट अर्को बेरिङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्ने बताउनुभयो । आर्थिक अभावका कारण नयाँ बेरिङ खरिद र ढुवानी गर्न समस्या भएको उहाँको भनाइ छ ।

सो परियोजनाको सेवा क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार भएको छैन् । मालिका गाउँपालिका–४ को फूलबारी र गरजरामा मात्र केन्द्रीय लाइनको विद्युत् पुगेको छ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह