काठमाडौं । काठमाडौं उपत्यकामा जनघनत्व बढी भएकाले धेरै लगानीकर्ताको पहिलो रोजाई यही क्षेत्रमै रहन्छ । बजारको सहज पहुँच, कच्चा पदार्थको उपलब्धता, जनशक्ति सहज व्यवस्थापन तथा बिजुली लगायतका पूर्वाधारका कारण धेरैले काठमाडौं उपत्यकाभित्रै उद्योग व्यवसाय सञ्चालन गर्न चाहान्छन् ।
तर, उपत्यकामा उद्योग खोल्न सहज भने छैन । घरजग्गाको भाडा महँगो भएकाले मात्र नभइ सरकारको निषेधात्मक नीतिका कारण यहाँ थुप्रै प्रकृतिका उद्योग खोल्न पाइँदैन ।
खासगरी वायु, ध्वनी तथा अन्यखाले प्रदूषणले बढी मानिसलाई असर गर्ने भएकाले सरकारले यहाँ कतिपय उद्योग खोल्न रोक लगाएको छ ।
उद्योग विभागका अनुसार काठमाडौं उपत्यकामा सिमेन्ट, रासायनिक मल, स्टील उद्योग, पल्प एन्ड पेपर, कास्टिक सोडा केमिकल जस्ता उत्पादनमूलक उद्योग स्थापनामा प्रतिबन्ध रहेको छ ।
यस्तै, आयल रिफाइनरी (पेट्रोलियम), ठूला र मध्यमखाले डाइङ उद्योग, एसिड उत्पादनसम्बन्धी उद्योग, डिस्टिलरी एन्ड बियर, इलेक्ट्रोप्लान्टिङ एन्ड ग्यल्भेलाइजिङ, सुगर प्रडक्सन रबर प्रशोधन, पेन्ट्स उद्योग तथा ब्लिचिङ पाउडर उत्पादनसम्बन्धी उद्योग स्थापना गर्न नपाइने सूचीमा समाविष्ट छन् ।
काठमाडौंका कुनै पनि नगरपालिकामा रोड ढुंगा गिटी उद्योग सञ्चालनमा प्रतिबन्ध रहेको छ ।
प्रतिक्रिया