Logo

विकास / पूर्वाधार

विश्व बैंकको ४ अर्ब पहिरोमै बग्ने भयो !


appharu
   २० श्रावण २०७५, आइतबार


काठमाडौं । झन्डै ४ अर्ब रुपैयाँ खर्चेर हालै निर्माण सम्पन्न भएको ३३ किलोमिटर लामो मुग्लिन– नारायणगढ सडक दिनहुँजसो अवरोध भइरहेको छ ।

सडक निर्माणका क्रममा वातावरणीय पक्षलाई ध्यान नदिँदा सडकको चिल्लो पिचमा माथिबाट पहिरो आएर झन् जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण विवश छन् ।

विश्व बैंकको लगानीमा निर्माण भएको सडकको सबै काम सकिएको आयोजना सम्बद्ध अधिकारीहरुले बताए पनि जोखिम भने पहिलेभन्दा बढेको छ ।

वातावरणविदहरुका अनुसार यो सडकको भित्तो एकदमै कमजोर छ । यसमा बारम्बार पहिरो गइरहने जोखिम भएकाले त्यसतर्फ ध्यान नदिइ साँघुरो सडकलाई ठूलो बनाउनेतर्फ जथाभावी पहाड खन्दा यस्तो समस्या आएको छ ।

कतिपय वातावरणविदहरुले यो सडकको विस्तारले भोलिका दिनमा झनै ठूलो समस्या ल्याउनसक्ने बताइरहेका छन् । यो सडक विस्तार गर्नुको साटो त्रिशुलीपारीबाट अर्को सडक निर्माण नै उपयुक्त हुने आफूहरुको सुझाव सरकार र दाताले नसुनेको उनीहरुको भनाइ छ ।

आयोजना विश्वबैंकको करिब ३ अर्ब ९० करोड (३६ मिलियन अमेरिकी डलर) सहयोगमा निर्माण भएको हो । १० अर्बको नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन परियोजना (एनआईआरटीटीपी)अन्तर्गत यो सडकका लागिमात्र झन्डै ४० प्रतिशत बजेट विनियोजन गरिएको थियो ।

सर्वसाधारण यात्रुका लागि लाइफलाइन भनिए पनि सरकारले विकास निर्माणसँग सम्बन्धित ठूला उपकरण तथा बल्क कार्गो ढुवानीका लागि भन्दै यसलाई ट्रेड रोडको रुपमा अघि बढाएको छ ।

सडकको एक दर्जन ठाउँमा बारम्बार पहिरो जाँदा दिनहुँजसो सडक अबरुद्ध भइरन्छ । एक ठाउँमा त सडक करिब ३० मिटर नै भासिएको छ ।
यस्तै, सडक बने पनि पुल भने पुरानै रहँदा अर्को समस्या देखिएको छ ।

प्रकाशित : २० श्रावण २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह