नेपालगञ्ज । दशैंका लागि घर फर्केका मुगुका झन्डै दुई दर्जन स्थानीयको बस दुर्घटनामा निधन भएको छ ।
नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको हो ।
मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा ठूलो मानवीय क्षति भएको बताएका छन् । उनका अनुसार नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण छ।
बीच बीचमा बस रोकेर यात्रु चढाएको हुन सक्ने भएकाले यात्रु सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने पनि ठानिएको छ। बस भिरालोबाटोमा धेरै तल खोलामा खसेको महतले बताए।
हाल घाइतेलाई उद्धार गरेर विमानस्थल पुर्याउने र शव सङ्कलन गर्ने काम भइरहेको छ । घाइतेलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर विभिन्न अस्पतालमा लगिने छ। उद्धार र शव सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
दुर्घटनाको कारण यकिन नभइसके पनि दशैँका बेला सवारी साधनको क्षमताभन्दा बढी मान्छे कोचेर पनि दुर्घटना भएको हुनसक्ने अनुमान छ।
प्रतिक्रिया