काठमाडौं । काठमाडौं कोटेश्वरमा बेकरी उद्योग चलाउने सुवाश खड्काको गोदाममा यतिबेला मैदाभन्दा बढी चिनीका बोरा छन् । आफ्नो गोदाममा औषत ५ बोरा चिनी र १२ बोरा मैदा राख्ने खड्काले दशैंअघि चिनी अभाव हुने हल्ला सुनेकै आधारमा एकैपटक १५ बोरा चिनी भित्र्याए ।
चाडपर्वमा चिनी अभाव होला र आफ्नो व्यवसायमा असर पर्ला भनेर आवश्यकताभन्दा बढी चिनी खरिद गर्नु उनको बाध्यता थियो । सञ्चारमाध्यममा यो दशैं तिहारमा चिनी अभाव हुने भन्नेखालका समाचार जतासुकै पढेसँगै उनले प्रतिकिलो ५ रुपैयाँ बढी मूल्य तिरेर चिनी गोदाममा राखेका हुन् ।
तर, दशैंमा चिनी अभाव भएन । बाह्य मुलुकबाट आयात नभए पनि स्वदशमै रहेको स्थानीय उत्पादन तथा स्टकका कारण उपभोक्ताले पर्याप्त चिनी पाए । दुई महिनाअघि नै प्रतिकिलो ९० रुपैयाँ पुगिसकेको चिनीको मूल्यमा पनि खासै उतारचढाव आएन ।
दशैंअघि चिनी अभावका समाचार श्रृंखलाबद्ध रुपमा प्रकाशित तथा प्रशारण भइरहेका थिए । कतिपयले सरकारले आयातका लागि कोटा खुलाउनुपर्ने लबिङका लागि नियोजित रुपमा यसको प्रचार गरिरहेका थिए भने स्वदेशी चिनी उद्योगीले गोदाममा भएको चिनी बिक्री गराउनकै लागि पनि यस्तो हल्ला चलाइरहेको पाइएको छ ।
त्यसो त सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसलमा चिनी उपलब्ध नगराएर अभावको हल्ला चलाउनेहरुलाई नै बल पुर्याइरहेको थियो । प्रत्येक वर्षजस्तै देशका मुख्य चाडपर्वका बेला चिनीका विषयमा अनावश्यक किचलो गर्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनले भन्सार छुटमा ल्याउने चिनीको स्टक कम हुँदै गए पनि अन्य आयातकर्ताले भन्सार तिरेर ल्याउने चिनीको स्टक पर्याप्त हुँदा आउँदो तिहार र छठ पर्वमा पनि चिनी अभाव नहुने अवस्था छ ।
चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ लाख ६३ हजार किलो चिनी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। नेपालमा गत वर्ष १ लाख ५ हजार टन उत्पादन भएको छ । चिनी उत्पादक संघको तथ्यांक अनुसार उखु उत्पादन अलि कम हुँदा गत वर्षमा १ लाख ५ हजार टन उत्पादन भएको थियो ।
उपभोक्ताले भने अभावको हल्लाकै कारण अनावश्यक मात्रामा चिनी खरिद गर्नुपरेकाले उनीहरुले ठगिएको महशुस गरेका छन् ।
प्रतिक्रिया